काठमाडाैँ- कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्थापना भएको १६ वर्षको अवधिमा कुल ५ हजार ९०६ विद्यार्थी विभिन्न तहका शैक्षिक कार्यक्रमबाट उत्तीर्ण भएका छन्।
विश्वविद्यालयले बुधबार आफ्नो स्थापना दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार विसं २०६७ असार ३ गते स्थापना भएयता स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा उल्लेख्य सङ्ख्यामा जनशक्ति उत्पादन गरेको छ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सुविर सिंह का अनुसार कृषि सङ्कायतर्फ स्नातक तहमा ३ हजार १४, स्नातकोत्तरमा ८८८ र विद्यावारिधि तहमा ५४ विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यस्तै, पशुचिकित्सा तथा पशुविज्ञान सङ्कायतर्फ स्नातकमा ३८८, पशुचिकित्सा स्नातकोत्तरमा २०१, पशुविज्ञान स्नातकोत्तरमा १११ तथा विद्यावारिधि तहमा १० विद्यार्थी उत्तीर्ण भएका छन्।
मत्स्यविज्ञान सङ्कायबाट स्नातकमा ११३, स्नातकोत्तरमा ५० र विद्यावारिधिमा ४ विद्यार्थी उत्तीर्ण भएका छन् भने वनविज्ञान सङ्कायतर्फ स्नातकमा ८९३, स्नातकोत्तरमा १७६ र विद्यावारिधिमा ४ विद्यार्थी सफल भएका छन्।
समग्रमा विश्वविद्यालयबाट स्नातक तहमा ४ हजार ४०८, स्नातकोत्तर तहमा १ हजार ४२६ तथा विद्यावारिधि तहमा ७२ विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका अनुसार उत्तीर्णमध्ये अधिकांश विद्यार्थी सोही विश्वविद्यालयका नियमित विद्यार्थी रहेका छन् भने केही विद्यार्थी विदेशी शैक्षिक कार्यक्रमअन्तर्गत पनि उत्तीर्ण भएका छन्।
कृषि, पशुचिकित्सा, मत्स्य तथा वन विज्ञान क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको विश्वविद्यालयले देशको कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।