चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका गरी कुल २ हजार १९३ विद्यार्थी दीक्षित भएका छन्। समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको समृद्धि र उज्ज्वल भविष्य कृषि क्षेत्रको विकाससँग जोडिएको बताउँदै सरकारले कृषि क्षेत्रको उन्नयन र आधुनिकीकरणका लागि निरन्तर प्रयास गरिरहेको बताए।
उनले चितवनको पहिचान कृषि तथा वन विज्ञान विश्वविद्यालयका कारण अझ सशक्त बनेको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई प्राप्त उपाधिलाई केवल शैक्षिक प्रमाणपत्रका रूपमा नभई राष्ट्र, समाज र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा ग्रहण गर्न आग्रह गरे। विश्वविद्यालयबाट हासिल गरेको ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा नयाँ सम्भावना र परिवर्तनको ढोका खोल्ने उनको विश्वास थियो।
मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र प्रमुख आधार रहेको उल्लेख गर्दै कृषि रूपान्तरणको मुख्य आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति भएको बताए। समारोहका प्रमुख अतिथि लद्दाख विश्वविद्यालयका उपकुलपति प्राध्यापक साकेत कुसवाहाले नेपाल र भारतबीचको साझा सांस्कृतिक, दार्शनिक तथा ज्ञान परम्पराको चर्चा गर्दै शिक्षा मानव जीवनलाई मार्गनिर्देशन गर्ने महत्वपूर्ण शक्ति भएको बताए।
विश्वविद्यालयका उपकुलपति प्रा. होमबहादुर बस्नेतले दीक्षित विद्यार्थीहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न प्रेरित गरे। उनले कृषि तथा वन क्षेत्रको विकासमा युवाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. सुवीर सिंहका अनुसार दीक्षितमध्ये १ हजार ८३६ जना स्नातक, ३२७ जना स्नातकोत्तर तथा ३० जनाले विद्यावारिधि उपाधि प्राप्त गरेका छन्।