काठमाडौँ- सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा अध्ययनरत अधिकांश विद्यार्थी विद्यालय तहमा केन्द्रित रहेको तथ्य सार्वजनिक भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालय ले मंगलबार सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण २०८३/८४ अनुसार शैक्षिक सत्र २०८०/८१ मा पूर्वप्राथमिकदेखि उच्च शिक्षासम्म कुल ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।
सर्वेक्षणअनुसार पूर्वप्राथमिक तहमा करिब ९ लाख ३२ हजार विद्यार्थी अध्ययनरत छन् भने आधारभूत तह (कक्षा १-८) मा १८ लाख ६४ हजार र माध्यमिक तह (कक्षा ९-१२) मा करिब ४ लाख ९१ हजार विद्यार्थी अध्ययनरत छन्। यसले निजी तथा गैरसरकारी शिक्षण संस्थाहरूमा विद्यालय तहका विद्यार्थीहरूको हिस्सा अत्यधिक रहेको देखाउँछ।
उच्च शिक्षातर्फ सामुदायिक शिक्षण संस्थामा २ लाख २१ हजार र निजी शिक्षण संस्थामा २ लाख ४५ हजार गरी कुल ४ लाख ६६ हजार ८०५ विद्यार्थी अध्ययनरत रहेको तथ्यांकले देखाएको छ। त्यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा ३५ हजार ६८८ विद्यार्थी अध्ययनरत छन्।
प्रदेशगत रूपमा हेर्दा उच्च शिक्षा अध्ययन गर्ने कुल विद्यार्थीमध्ये २ लाख १४ हजार ९९७ जना अर्थात् करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेश मा अध्ययनरत छन्, जसले उच्च शिक्षाको मुख्य केन्द्रका रूपमा बागमतीलाई स्थापित गरेको छ।
संकायगत विश्लेषणमा व्यवस्थापन तथा वाणिज्य संकाय सबैभन्दा लोकप्रिय देखिएको छ। यस संकायमा २ लाख ३६ हजार ५८१ विद्यार्थी अर्थात् करिब ५१ प्रतिशत अध्ययनरत छन्। शिक्षा संकायमा १ लाख १२ हजार ७७६ (२४ प्रतिशत), मानविकी तथा सामाजिक शास्त्रमा ४१ हजार ९ (९ प्रतिशत), विज्ञान तथा प्रविधिमा ३६ हजार १५९ (७ प्रतिशत), इन्जिनियरिङमा २१ हजार ७३९ (४ प्रतिशत) तथा अन्य संकायमा १८ हजार ५४२ विद्यार्थी (३ प्रतिशत) अध्ययनरत रहेका छन्।
प्रदेशअनुसारको अध्ययनले कर्णाली प्रदेश मा भने फरक प्रवृत्ति देखाएको छ। अन्य सबै प्रदेशमा व्यवस्थापन तथा वाणिज्य संकायमा विद्यार्थी संख्या सबैभन्दा बढी रहे पनि कर्णालीमा शिक्षा संकाय अग्रस्थानमा रहेको छ। त्यहाँ उच्च शिक्षा अध्ययनरत १५ हजार ७२६ विद्यार्थী মध्ये १० हजार ९६२ जना अर्थात् करिब ७० प्रतिशत शिक्षा संकायमा अध्ययनरत रहेको सर्वेक्षणले जनाएको छ।
सर्वेक्षणले विद्यालय तहमा निजी तथा गैरसरकारी शिक्षण संस्थाहरूको प्रभाव उल्लेखनीय रहेको तथा उच्च शिक्षामा व्यवस्थापन र वाणिज्य विषयप्रति विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको संकेत गरेको छ।