काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले अल्पसूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
‘नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्राप्त आवेदनहरूमध्ये योग्य उम्मेदवारहरूको अल्पसूची प्रकाशन गरिएको समितिले जनाएको छ। साथै, अल्पसूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय तालिकासमेत सार्वजनिक गरिएको छ।
सूचनाअनुसार कुलसचिव पदका लागि ध्रुवप्रसाद भट्टराई, नवराज कोइराला, नवीनकुमार झा, प्रकाश तिवारी, विदुरप्रसाद बस्ती, भोला नारायण रेग्मी, माधव अधिकारी र शेखर दाहाल अल्पसूचीमा परेका छन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १० गते बुधबार बिहान १० बजे शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा हुनेछ।
त्यसैगरी शिक्षाध्यक्ष पदका लागि केशवशरण अर्याल, जगन्नाथ रेग्मी, प्रकाश तिवारी, प्रियंवदाना कोञ्जन्यायनी काफ्ले, मतिप्रसाद ढकाल, माधवप्रसाद लामिछाने र रमेश घिमिरे अल्पसूचीमा समावेश भएका छन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ११ गते बिहीबार बिहान १० बजे सोही स्थानमा तय गरिएको छ।
उपकुलपति पदका लागि कृष्ण रेग्मी, कालिदेश झा, गुरुप्रसाद सुवेदी, भीमप्रसाद खतिवडा र मुकुन्दप्रसाद लामिछाने अल्पसूचीमा परेका छन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १२ गते शुक्रबार बिहान ११ बजे शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ।
समितिले अल्पसूचीमा समावेश उम्मेदवारहरूलाई तोकिएको समयभन्दा एक घण्टा अगावै आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको छ।
