काठमाडाैँ - सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय परिसरमा सम्पन्न भएको छ। समारोहमार्फत शिक्षा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कृषि विज्ञान तथा विज्ञान–प्रविधि संकायका गरी २ हजार ४ सय ८९ जना विद्यार्थीलाई स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ।

दीक्षान्तका लागि योग्य विद्यार्थीको सङ्ख्या धेरै भए पनि ७ सय ६७ जना मात्र समारोहमा प्रत्यक्ष सहभागी भएका थिए। परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार शिक्षा संकायबाट २४२, व्यवस्थापनबाट २३९, मानविकीबाट १८२, इन्जिनियरिङबाट ५३, कृषि विज्ञानबाट ३३ र विज्ञान तथा प्रविधिबाट १८ जना विद्यार्थीले भौतिक रूपमा सहभागिता जनाएका थिए।
समारोहमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई स्वर्ण पदक तथा डिन पदक प्रदान गरिएको छ। यस वर्ष ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेमबहादुर रोकाया, दिवाकर पन्त, भरत साउँद, कविता जोशी, रजिन बोहरा र कैलाशराज भट्ट स्वर्ण पदकबाट सम्मानित भएका छन्। यस्तै, मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउँदले डिन पदक प्राप्त गरेका छन्।
व्यवस्थापन संकायका विद्यार्थी निशान्त चन्दलाई प्रदान गरिने भनिएको चान्सलर पदक भने वितरण हुन सकेन। पदक छनोट प्रक्रियामाथि असहमति जनाउँदै छात्रा रेखा भट्टले उच्च अदालतमा रिट दायर गरेपछि अदालतको आदेश नआउँदासम्म पदक वितरण स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ। कृषि विज्ञान संकायका कैलाशराज भट्टलाई प्रदान गरिने भनिएको भाइस चान्सलर पदकसम्बन्धी प्रक्रिया पनि आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अघि बढाइने विश्वविद्यालयले जनाएको छ।
यस वर्षको दीक्षान्त समारोहको विशेष आकर्षण डा. तुलसीकुमारी शर्मा रहिन्। उनी सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने पहिलो महिला बनेकी छन्। विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न समारोहमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पूर्वमन्त्री, शिक्षा क्षेत्रका सरोकारवाला र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विश्वविद्यालयका निर्देशक हरिश भट्टले दीक्षान्त समारोहलाई विद्यार्थीको जीवनको महत्त्वपूर्ण उपलब्धि र उत्सवका रूपमा लिँदै अभिभावकसहित उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको बताए। कार्यक्रममा संस्कृतविद् तथा साहित्यकार प्राडा. तुलसीप्रसाद जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए।