काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) अध्ययनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै पीएचडी सुपरभाइजरका लागि कडा योग्यता र मापदण्ड लागू गरेको छ।
नयाँ व्यवस्थाअनुसार पीएचडी सुपरभाइजर बन्न सम्बन्धित विषयमा विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयका स्थायी शिक्षक हुनुपर्नेछ। साथै, सम्बन्धित केन्द्रीय विभाग, आङ्गिक क्याम्पस वा स्कुलमा प्राध्यापक, सहप्राध्यापक वा सहायक प्राध्यापकका रूपमा कार्यरत रही सुपरभिजन सुरु गर्नुभन्दा कम्तीमा तीन वर्षअघि नै पीएचडी उपाधि हासिल गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकाले सुपरभाइजरको प्राज्ञिक क्षमता र अनुसन्धान अनुभवलाई विशेष प्राथमिकता दिएको छ। अब सुपरभाइजरका रूपमा जिम्मेवारी लिन इच्छुक शिक्षकका कम्तीमा पाँच वटा अनुसन्धानमूलक लेख सूचीकृत (Indexed) वा स्टार रेटेड जर्नलमा प्रकाशित भएको हुनुपर्नेछ।
राष्ट्रिय भाषा तथा संस्कृतिसम्बन्धी विषयका हकमा भने न्यूनतम योग्यता निर्धारण गर्ने अधिकार सम्बन्धित डीन कार्यालयको फ्याकल्टी बोर्डलाई दिइएको छ। साथै, त्रिभुवन विश्वविद्यालय वा त्यसबाट मान्यता प्राप्त अन्य विश्वविद्यालय, संस्थान वा अनुसन्धान केन्द्रमा कम्तीमा पाँच वर्षको अध्यापन वा अनुसन्धान अनुभव अनिवार्य गरिएको छ।
निर्देशिकाले एक जना सुपरभाइजरले एकै समयमा मार्गदर्शन गर्न पाउने पीएचडी विद्यार्थीको सङ्ख्या पनि सीमित गरेको छ। नयाँ व्यवस्थाअनुसार प्राध्यापकले बढीमा पाँच जना, सहप्राध्यापकले चार जना र सहायक प्राध्यापकले तीन जनासम्म पीएचडी अनुसन्धानार्थीलाई मात्र सुपरभिजन गर्न पाउनेछन्।
संयुक्त उपाधि (Joint Degree) कार्यक्रमअन्तर्गत अन्य विश्वविद्यालय वा अनुसन्धान संस्थासँग भएको समझदारीअनुसार बाह्य सुपरभाइजर नियुक्त गर्न सकिने भए पनि त्रिभुवन विश्वविद्यालयकै सुपरभाइजर मुख्य सुपरभाइजर रहने व्यवस्था गरिएको छ। त्यस्ता कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका सबै शैक्षिक नियम र अनुशासन पालना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
यद्यपि, नयाँ मापदण्ड लागू हुनुअघि नै सुपरभिजन गरिरहेका तर हाल तोकिएको योग्यता पूरा नगरेका सुपरभाइजरलाई भने आफ्ना पुराना पीएचडी अनुसन्धानार्थीहरूको मार्गदर्शन कार्यलाई निरन्तरता दिन पाउने व्यवस्था गरिएको छ।