काठमाडौँ- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले उपकुलपति पदका लागि आवेदन दिएका तीन जना र रजिस्ट्रार पदका लागि सात जना उम्मेदवारलाई अन्तिम छनोटको सूचीमा समावेश गरेको हो।
समितिका अनुसार उपकुलपति पदका लागि तनहुँका प्रा.डा. काजिराम अधिकारी, काठमाडौंका प्रा.डा. सुनिलकुमार जोशी र रुपन्देहीका प्रा.डा. माधव लम्साल सर्टलिस्टमा परेका छन्। प्रा.डा. जोशी यसअघि विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। सरकारले अध्यादेश जारी गरेपछि उनी पदमुक्त भएका थिए।
त्यसैगरी रजिस्ट्रार पदका लागि कैलालीका प्रा.डा. पदमराज जोशी, तनहुँका प्रा.डा. काजिराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डा. कादिर आलम, बर्दियाका प्रा.डा. दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डा. डमरुप्रसाद पनेरुको नाम सर्टलिस्टमा परेको छ।
सिफारिस समितिका अनुसार उपकुलपति र रजिस्ट्रारको अन्तिम छनोट प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा गरिनेछ। त्यसका लागि १५ असारको मिति निर्धारण गरिएको छ।
विश्वविद्यालयसभाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।
समितिका संयोजक अवस्थीका अनुसार उपकुलपति बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासम्बन्धी विषयमा विद्यावारिधि, डीएम, एमसीएच वा सोसरहको उपाधि प्राप्त गरेको तथा विश्वविद्यालयमा प्राध्यापक पदमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ।
यस्तै, रजिस्ट्रार पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र उच्च शिक्षामा प्राध्यापन, प्राज्ञिक अनुसन्धान, स्वास्थ्य सेवाको कार्यकारी प्रशासन वा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको पदमा कम्तीमा पाँच वर्षको कार्यअनुभव अनिवार्य रहने कार्यविधिमा उल्लेख गरिएको छ।