काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयु) को ३१ औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा एक हजार ५२७ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयका प्रवक्ता डा. उद्धव प्याकुरेलले शुक्रबार हुने दीक्षान्त समारोहमा सात वटा स्कुल अन्तर्गतका विद्यार्थीलाई उपाधि प्रदान गरिने जानकारी दिए।
दीक्षित हुनेमध्ये स्कुल अफ आट्र्सका १६१, एजुकेसनका ११२, इन्जिनियरिङका ३५५, लका ४२, म्यानेजमेन्टका १४६, मेडिकल साइन्सेजका ५०४ तथा साइन्सका २०७ विद्यार्थी छन्। यसमा विद्यावारिधि(पिएचडी÷डिएम÷एमसिएच) का २१, एमफिलका ९३, स्नातकोत्तरका २७९, पिजिडिईका दुई तथा स्नातक तहका एक हजार १३२ विद्यार्थी छन् ।
दीक्षित हुनेमध्ये आठ सय पुरुष र ७२७ महिला छन्। यस पटक अस्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ विदेशी विद्यार्थी पनि दीक्षित हुने छन्। विश्वविद्यालयको इतिहासमै पहिलो पटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स कार्यव्रmमका २६, डक्टर अफ नियोनाटोलोजीका तीन तथा मास्टर्स अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलिकुलर बायोलोजीका चार विद्यार्थीलाई उपाधि प्रदान गरिने छ।
यस चरणको दीक्षान्त सम्पन्न भएसँगै विश्वविद्यालयबाट हालसम्म दीक्षित हुने विद्यार्थीको सङ्ख्या ५१ हजार ५६७ पुग्ने छ । तीमध्ये छ हजार ३९ विदेशी विद्यार्थी रहेका छन्। दीक्षान्त समारोहको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री तथा सहकुलपति सस्मित पोखरेलले गर्ने छन भने प्रमुख अतिथिका रूपमा भारतस्थित डेक्कन कलेज पोस्ट ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्राडा. भूषण पटवर्धनले दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन्।