काठमाडाैँ - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले समृद्ध र विकसित नेपाल निर्माणका लागि शिक्षित युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
उनले सरकारले युवाले परिकल्पना गरेको समुन्नत समाज निर्माणका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै त्यस अभियानमा शिक्षित जनशक्तिको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।
सरकारले नेपालमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। तपाईंहरूले कल्पना गर्नुभएको समुन्नत समाज निर्माणका लागि हामी प्रयासरत छौं। त्यसमा युवाको सक्रिय सहभागिता आवश्यक छ, मन्त्री पोखरेलले भने।
मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयले हालसम्म विभिन्न विषयमा ५१ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको उल्लेख गर्दै ती जनशक्तिले आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने अपेक्षा व्यक्त गरे।
उनले दीक्षित विद्यार्थीलाई विदेशतर्फ मात्र आकर्षित नहुन आग्रह गर्दै नेपालमै प्रशस्त अवसर रहेको र सरकारले थप अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताए।
नेपालमै अवसर पाइन्छ। सरकारले नयाँ अवसर सिर्जना गर्नेछ। तपाईंहरूले प्राप्त गरेको ज्ञान र सीप यही देशको विकास र समृद्धिका लागि प्रयोग गर्नुहोस्, उनले भने।
दीक्षान्त समारोहका अवसरमा मन्त्री पोखरेलले विभिन्न संकायका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए। समारोहमा काठमाडौं विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) र अटोमेशनको तीव्र विकाससँगै प्राविधिक दक्षतामात्र नभई नैतिकता, विवेक, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिए।
त्यसैगरी, भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा.डा. भूपेन्द्र पाटद्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान तथा परम्परागत ज्ञानको आदानप्रदानलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई आत्मविश्वास, नैतिकता र जिम्मेवारीका साथ समाजको हितमा प्रयोग गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे।