काठमाडौँ - काठमाडौं विश्वविद्यालय (केयू) ले स्थापनाको ३५ वर्षको अवधिमा विश्वका ५९ देशका झण्डै ६ हजार विदेशी विद्यार्थीले अध्ययन पूरा गरी डिग्री हासिल गरेको जनाएको छ। शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोहका अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार हालसम्म ५ हजार ८ सय ६० विदेशी विद्यार्थी विभिन्न शैक्षिक कार्यक्रमबाट उत्तीर्ण भई दीक्षित भएका छन्। यस वर्षको दीक्षान्त समारोहमा १ हजार ५ सय २७ विद्यार्थी दीक्षित हुँदैछन्।
विश्वविद्यालयका अनुसार केयूमा एसियादेखि युरोप, अफ्रिका, उत्तर अमेरिका तथा दक्षिण अमेरिकासम्मका विभिन्न मुलुकका विद्यार्थी अध्ययन गर्न आएका छन्। विदेशी विद्यार्थीमध्ये इजरायलका ४, प्यालेस्टाइनका १, अफगानिस्तानका ३ र इथियोपियाका १ जनाले अध्ययन पूरा गरेका छन्।
भारतबाहेकका मुलुकमध्ये सबैभन्दा धेरै श्रीलंकाका ३९९ जना विद्यार्थीले केयूबाट डिग्री हासिल गरेका छन्। त्यसपछि अमेरिकाका ८५ जना र माल्दिभ्सका ७५ जना विद्यार्थी रहेका छन्।
केयूको विद्यार्थी समुदायमा बेलायत, नेदरल्यान्ड्स, डेनमार्क, फिनल्यान्ड, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, तान्जानिया, नामिबिया, सुडान, गाम्बिया, दक्षिण अफ्रिकालगायत विश्वका विभिन्न देशका विद्यार्थी सहभागी भएका छन्।
विश्वविद्यालयको इतिहासमा हालसम्म पाँचवटा महादेशका ५९ देशका विद्यार्थीले अध्ययन गरेको तथ्यांकले केयू अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको छ।
काठमाडौं विश्वविद्यालयको सुरुआत सन् १९९१ मा ‘काठमाडौं भ्याली क्याम्पस’ का रूपमा भएको थियो। पुल्चोक इन्जिनियरिङ क्याम्पसको परिसरमा भाडाको भवनबाट सञ्चालन भएको उक्त क्याम्पस पछि काठमाडौं विश्वविद्यालयका रूपमा विकसित भएको हो।