काठमाडौँ- देशकै जेठो र सबैभन्दा पुरानाे अर्थात विस २०१६ सालमा स्थापना भएको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नयाँ उपकुलपतिको रूपमा प्रा.डा. भोला थापालाई पाएको छ। काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति रहेका थापा त्रिविको नेतृत्वमा पुग्ने दुर्लभ उदाहरण बनेका छन्।
यसअघि त्रिविका प्राध्यापकहरू अन्य विश्वविद्यालयको उपकुलपति बन्ने परम्परा रहे पनि अर्को विश्वविद्यालयको उपकुलपति भइसकेको व्यक्ति त्रिविको उपकुलपति नियुक्त हुने घटना निकै कम देखिएको छ। केही समयअघि पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल त्रिविमा नियुक्त भए पनि उनी त्रिविकै कर्मचारी थिए। तर थापा भने काठमाडौं विश्वविद्यालयमै डीनदेखि उपकुलपतिसम्मको जिम्मेवारी सम्हालेका व्यक्ति हुन्।
काठमाडौं विश्वविद्यालयमा दोस्रो कार्यकालका लागि प्रयास गरे पनि तत्कालीन राजनीतिक समीकरणका कारण उनले निरन्तरता पाउन सकेनन्। त्यसपछि उनी पुनः विश्वविद्यालय नेतृत्वका लागि चर्चामा रहे पनि अन्ततः देशकै ठूलो विश्वविद्यालय त्रिविको नेतृत्व सम्हाल्ने अवसर पाए।
थापाले नेतृत्व सम्हालेको त्रिवि लामो समयदेखि प्रशासनिक अव्यवस्था, राजनीतिक हस्तक्षेप, कर्मचारी-शिक्षक आन्दोलन र विद्यार्थी अराजकताले प्रभावित छ। तीव्र राजनीतिक तथा आन्तरिक दबाब, तालाबन्दी, तोडफोड र भौतिक आक्रमणको प्रयास समेत यस अघिका उपकुलपतिहरुले सामना गर्नुपरेको थियो।
नव नियुक्त उपकुलपति थापाका लागि यो पाठले आगामी बाटा तय गर्न मार्गनिर्देश गर्नेछ। उनको नेतृत्वको पहिलो संकेत रेक्टर, रजिस्ट्रार तथा डीनहरूको नियुक्तिवाट पनि देखिने छ।
यस्ता छन् चुनौती
कर्मचारी प्रशासन सुधार
त्रिविको कर्मचारी संयन्त्र लामो समयदेखि राजनीतिक प्रभाव, कार्यक्षमताको अभाव र प्रशासनिक ढिलासुस्तीको आरोप खेप्दै आएको छ। दैनिक प्रशासनदेखि परीक्षाफल प्रकाशनसम्म कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। समयमै परीक्षाफल प्रकाशन आफनो पहिलो प्राथामिकता हुने उनले बताएका छन्।
प्राध्यापक व्यवस्थापन र प्राज्ञिक सुधार
दलीय आधारमा नियुक्ति, आन्दोलनमार्फत स्थायीकरण र घट्दो शैक्षिक गुणस्तर त्रिविका पुराना समस्या हुन्। शिक्षक तथा प्राध्यापक लाई राजनीतिक प्रभावभन्दा प्राज्ञिक वातावरणमा केन्द्रित गराउनु थापाको अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ।
विद्यार्थी संगठन र क्याम्पस अनुशासन
विद्यार्थी संगठनको दबाब, आन्दोलन, तालाबन्दी र पदाधिकारीमाथिको दुव्र्यवहार विगतमा त्रिविका नियमित समस्या बनेका थिए। विश्वविद्यालयमा शैक्षिक वातावरण कायम गर्दै अनुशासन स्थापित गर्नु सहज चुनौती होइन।
आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पस व्यवस्थापन
त्रिविका ६१ वटा आंगिक क्याम्पसको आर्थिक अवस्था, सम्पत्ति संरक्षण र व्यवस्थापन जटिल बन्दै गएको छ। त्यसभन्दा ठूलो चुनौती सम्बन्धनप्राप्त क्याम्पससँग जोडिएका विवाद, सम्बन्धन प्रक्रिया र त्यससँग सम्बन्धित दबाबलाई पारदर्शी बनाउनु हुनेछ।
सम्पत्तिकाे संरक्षण
त्रिविको जग्गा तथा अन्य सम्पत्तिमाथि अतिक्रमणका घटनाबारे अध्ययन भइसकेको छ। ती प्रतिवेदन कार्यान्वयन गर्दै विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नु पनि नयाँ नेतृत्वको प्रमुख दायित्व बनेको छ।
अनुकुल अवस्था
थापाका लागि केही अनुकूल अवस्था पनि देखिएका छन्। वर्तमान सरकारले विश्वविद्यालयभित्र विद्यार्थी संगठन विघटन गर्ने तथा शिक्षक–विद्यार्थीको राजनीतिक गतिविधिमा नियन्त्रणका नीति अघि सारेको छ। यसले विश्वविद्यालयभित्रको राजनीतिक हस्तक्षेप केही घट्ने अपेक्षा गरिएको छ।
यद्यपि, त्रिविको दीर्घकालीन सुधार नेतृत्व क्षमता, सक्षम टोली चयन, प्रशासनिक दृढता र प्राज्ञिक सुधारका योजनामा निर्भर रहनेछ। बेथिति, राजनीतिक हस्तक्षेप र अव्यवस्थाले थलिएको त्रिभुवन विश्वविद्यालयलाई नयाँ दिशामा लैजान सक्ने वा नसक्ने भन्ने परीक्षा अब उपकुलपति डा. थापाको कार्यकालले तय गर्नेछ।