काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र केन्द्रीय विभागले स्नातकोत्तर तह (एमएससी) भौतिकशास्त्रको पाठ्यक्रमलाई श्रम बजारको माग अनुरूप परिमार्जन गर्ने उद्देश्यले कार्यशाला सम्पन्न गरेको छ।
भौतिकशास्त्र केन्द्रीय विभागमा आयोजित कार्यशालामा भौतिकशास्त्र विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन पूरा गरी विभिन्न सरकारी, गैरसरकारी, प्राविधिक तथा व्यावसायिक क्षेत्रमा कार्यरत ४० जना विज्ञ तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यशालामा भौतिकशास्त्रको स्नातकोत्तर पाठ्यक्रमलाई समयसापेक्ष, रोजगारीमुखी तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले पाठ्यक्रममा सैद्धान्तिक ज्ञानसँगै सीपमूलक सामग्री समावेश गर्न, उद्योग तथा रोजगार क्षेत्रसँग जोडिएका विषयवस्तु समेट्न तथा विद्यार्थीको आकर्षण बढाउने उपायबारे सुझाव दिएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. शंकरप्रसाद खनालले बजारको आवश्यकता अनुरूप पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनले स्नातकोत्तर तहको पाठ्यक्रम प्रत्येक शैक्षिक चक्र पूरा भएपछि पुनरावलोकन गर्नुपर्ने, उत्कृष्ट विद्यार्थी उत्पादनमा संस्थागत प्रतिबद्धता आवश्यक रहेको तथा व्यावसायिक क्षेत्रका वास्तविक आवश्यकता र चुनौतीलाई पाठ्यक्रममार्फत सम्बोधन गर्नुपर्ने बताए।
उनले विद्यार्थी तथा अन्य सरोकारवालाबाट नियमित पृष्ठपोषण लिने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका सबै केन्द्रीय विभागलाई पाठ्यक्रम परिमार्जनका लागि निरन्तर प्रोत्साहन गरिएको जानकारी दिए।
भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. नारायणप्रसाद अधिकारीले कार्यशालाको उद्देश्य र अपेक्षाबारे जानकारी गराउँदै सहभागीहरूलाई आफ्नो अनुभव, कार्यक्षेत्रका चुनौती तथा आवश्यकताका आधारमा सुझाव दिन आग्रह गरे।
उनले विभागले गरेको प्रारम्भिक अध्ययनमा पाठ्यक्रममा सञ्चार सीप , समुहगत कार्य , नवप्रवर्तन क्षमता , सफ्ट स्किल्स, उद्योगमुखी पाठ्यक्रम तथा आधुनिक प्रयोगात्मक उपकरणसम्बन्धी विषय समावेश गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी दिए। कार्यशालामा प्रा.डा. राजु खनालले सहजीकरण गरेका थिए भने सहप्राध्यापक डा. गोपीचन्द्र काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए।
