काठमाडाैँ - बागमती प्रदेश सरकारले सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारका सात जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ। विपन्न समुदायका विद्यार्थीको प्राविधिक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका विद्यार्थीलाई मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ जारी गर्दै कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। निर्देशिकाअनुसार बागमती प्रदेशका स्थायी बासिन्दा, सामुदायिक माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण तथा सम्बन्धित निकायबाट विपन्न वा सीमान्तकृत समुदायका रूपमा सिफारिस भएका विद्यार्थी छात्रवृत्तिका लागि योग्य मानिएका छन्।
गत जेठ २७ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आवेदन दिएका विद्यार्थीमध्ये योग्यता र निर्देशिकामा तोकिएका मापदण्डका आधारमा सात जना छनोट भएका हुन्। सातवटा प्राविधिक विधामा आवेदन आह्वान गरिए पनि चारवटा विधामा मात्रै विद्यार्थी छनोट हुन सफल भएका छन्। छनोट हुने विद्यार्थीहरूमा मेडिकल डाक्टरतर्फ नुवाकोट बेलकोटगढीका श्रीराम भट्ट रहेका छन्। उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडामा अध्ययन गर्नेछन्।
सिभिल इन्जिनियरिङतर्फ चितवनका मातृका चेपाङ र काभ्रेपलाञ्चोकका अर्शिम श्रेष्ठ छनोट भएका छन्। उनीहरूले क्रमशः नेपाल पोलिटेक्निक इन्स्टिच्युट र ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गर्नेछन्। भेटेरिनरी डाक्टरतर्फ नुवाकोटकी ललिता तामाङ र काभ्रेपलाञ्चोकका विशाल तामाङ छनोट भएका छन्। उनीहरूले हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजी, कीर्तिपुरमा अध्ययन गर्नेछन्।
कृषि विषयमा मकवानपुरका उत्सव प्रधान र दोलखाकी निरुता योगी छनोट भएका छन्। उनीहरूले क्रमशः हेटौँडा जनप्रिय क्याम्पस र स्कुल अफ एग्रिकल्चर, टीकापुर (कैलाली) मा अध्ययन गर्नेछन्। प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार आयुर्वेद डाक्टर, सूचना प्रविधि इन्जिनियरिङ र स्टाफ नर्स विषयमा भने कुनै पनि आवेदन परेको छैन।
छनोट भएका विद्यार्थीको शिक्षण शुल्क प्रदेश सरकारले सम्बन्धित शिक्षण संस्थाको बैंक खातामा सिधै उपलब्ध गराउनेछ। स्नातक तहको छात्रवृत्ति रकम ३५ प्रतिशत, ४० प्रतिशत र २५ प्रतिशत गरी तीन किस्तामा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
कार्यक्रमको अर्को विशेषता सेवाकालीन व्यवस्था हो। छात्रवृत्तिमा अध्ययन पूरा गरेका विद्यार्थीले बागमती प्रदेशभित्रका सार्वजनिक सेवाका क्षेत्रमा कम्तीमा एक वर्षदेखि बढीमा दुई वर्षसम्म स्वयंसेवकका रूपमा सेवा गर्नुपर्ने प्रावधान राखिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारको नीतिले समेट्न नसकेका सीमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीलाई अवसर प्रदान गर्न प्रदेश सरकारले आफ्नै नीतिमार्फत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको बताए।
उनले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपर्ने वा ऋण लिएर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री बानियाँले यस कार्यक्रमलाई केवल आर्थिक सहयोगका रूपमा नभई प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन मानव पुँजी विकास योजनाका रूपमा लिइएको उल्लेख गर्दै यसले भविष्यमा प्रदेशको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।