काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको आधार मानव र प्रकृतिलाई बनाउनुपर्नेमा जोड दिएका छन्। उनले दिगो, पर्यावरणमैत्री र जनमुखी विकासमार्फत मात्रै समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।
नेपाल इन्जिनियर्स एसोसिएसनले ६४ औँ इन्जिनियर्स दिवसका अवसरमा आयोजनागरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण, उत्पादन, रोजगारी र मुलुकको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने बताए।
उनले विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय विविधता तथा सामाजिक संरचनालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै वर्तमान समयको आवश्यकता र नयाँ पुस्ताको आकांक्षाअनुसार आर्थिक गतिविधि तथा उत्पादनलाई तीव्र रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतसाधनले सम्पन्न तर भौगोलिक रूपमा जटिल नेपाललाई अहिले दिगो र वातावरणमैत्री पूर्वाधारको आवश्यकता रहेको बताए। जलवायु परिवर्तनले बढाइरहेको जोखिमलाई ध्यानमा राख्दै सडक, पुल तथा जलविद्युत् आयोजना प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्नेमा उनले जोड दिए।
उनका अनुसार नेपालको विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्छ, जसले वातावरण संरक्षणसँगै दीर्घकालीन आर्थिक समृद्धिलाई पनि सुनिश्चित गर्नेछ।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले विकास र मानवीय हितका विविध आयामलाई सम्बोधन गर्ने उल्लेख गर्दै लोकतन्त्रका मूल्य र मान्यतालाई व्यवहारमा उतार्न सके मात्रै यसको उद्देश्य पूरा हुने बताए।
उनले देशको भविष्य युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने भन्दै नवीन सोच भएका युवा इन्जिनियरहरूको प्राविधिक दक्षतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
विदेश पलायन भइरहेका दक्ष युवा इन्जिनियर र आर्किटेक्टप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले सरकार र निजी क्षेत्रलाई स्वदेशमै पर्याप्त रोजगारी, उचित मूल्याङ्कन तथा व्यावसायिक रूपमा अनुकूल वातावरण सिर्जना गर्न आग्रह गरे। उनका अनुसार युवालाई देशभित्रै अवसर उपलब्ध गराउन सके मात्रै समृद्ध नेपालको सपना साकार पार्न सकिन्छ।