काठमाडौँ- नेपालभर कृत्रिम बौद्धिकता (एआई) शिक्षा तथा भविष्यका प्रविधिमैत्री सीप विकासलाई विस्तार गर्ने उद्देश्यसहित कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेजबीच पाँच वर्षका लागि रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका संस्थापक–सीईओ चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले संयुक्त रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार नेपालका सातै प्रदेशका युवामाझ एआई, कोडिङ तथा अन्य भविष्यका प्रविधि सीपहरू विस्तार गर्ने लक्ष्य राखिएको छ। यस सहकार्यमार्फत कक्षा शिक्षालाई वास्तविक प्रविधि उद्योगसँग जोड्दै विद्यार्थीलाई डिजिटल नवप्रवर्तनतर्फ उन्मुख गरिने जनाइएको छ। कार्यक्रमअन्तर्गत उच्चस्तरीय कोडिङ बुटक्याम्प, एआई केन्द्रित ह्याकाथन तथा इनोभेसन च्यालेन्ज, प्रविधिमा आधारित स्टार्टअप इन्क्युबेसन कार्यक्रम र शिक्षकहरूको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिनेछ। विद्यार्थीलाई व्यावहारिक सीप, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने लक्ष्यसमेत साझेदारीले लिएको छ।
कार्यक्रममा बोल्दै क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारीले युवाहरूलाई एआईको प्रयोगकर्ता मात्र नभई यसको सिर्जनाकर्ता र नेतृत्वकर्ता बनाउने उद्देश्यले यो साझेदारी गरिएको बताए। सातै प्रदेशका युवाले समान अवसर प्राप्त गर्ने गरी कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।
महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले शैक्षिक प्रणालीलाई उद्योगको व्यावहारिक अनुभवसँग जोड्दै विद्यार्थीलाई प्रविधि क्षेत्रमा प्रवेश गर्ने प्रभावकारी मार्ग तयार पार्ने विश्वास व्यक्त गरे। उनले दक्ष तथा प्रविधिमैत्री जनशक्ति उत्पादनका लागि यो सहकार्य महत्त्वपूर्ण हुने बताए।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सह–संयोजक ओंकार बस्नेतलगायत शिक्षा तथा सूचना प्रविधि क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
क्यान महासंघ र महर्षि कलेजले यस साझेदारीमार्फत नेपालका युवालाई विश्वव्यापी डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउन एआई शिक्षा, नवप्रवर्तन र प्रविधिमैत्री सीप विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।