काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शिक्षाबीचको सहकार्यलाई संस्थागत बनाउने उद्देश्यले पाँचवर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानीकर्ता तथा नीतिनिर्माताबीच समन्वय विस्तार गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछन्। सहकार्यअन्तर्गत विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम, क्षमता विकास, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र बजारमुखी शैक्षिक कार्यक्रम विकास गरिनेछ।
चेम्बरले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गरी संयुक्त कार्यक्रम सञ्चालनमा सहजीकरण गर्नेछ। साथै, विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र उद्योग क्षेत्रका अनुभवी व्यवसायीलाई विश्वविद्यालयमा अतिथि वक्ताका रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ। त्यस्तै, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा सञ्चालन गर्ने, स्टार्टअप र नवप्रवर्तनका लागि परामर्श तथा मार्गदर्शन प्रदान गर्ने र उद्योग-शिक्षामा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नेछ। विश्वविद्यालयले सेमिनार, नीति संवाद तथा सम्मेलनसमेत आयोजना गर्नेछ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ। दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था छ। कार्यक्रममा चेम्बरका अध्यक्ष अग्रवालले विश्वविद्यालयहरू केवल रोजगारी खोज्ने जनशक्ति उत्पादनमा सीमित नभई रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता उत्पादनमा केन्द्रित हुनुपर्ने बताए।
उनले ज्ञानलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आजको आवश्यकता रहेको उल्लेख गर्दै उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य महत्वपूर्ण हुने बताए। बजारको वास्तविक आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय र उद्योगबीच निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. पौडेलले विश्वविद्यालय शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने अवधारणाका साथ अघि बढिरहेको बताए। चेम्बरसँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्न, अनुसन्धानलाई व्यवहारिक बनाउन तथा स्टार्टअप र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।