काठमाडौँ- विदेश अध्ययनका लागि विद्यार्थीले भिसा पाउनु मात्रै सफलता नभएको बताउँदै अल्टिमेट कन्सल्टेन्सी एण्ड एडभाइजरी नेटवर्क (UCAN) का सीईओ निरञ्जन पन्तले नेपालमै गुणस्तरीय शिक्षा र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
पन्तका अनुसार विद्यार्थी विदेशिने प्रवृत्ति न्यूनीकरण गर्न विद्यालय तहदेखि नै शिक्षा प्रणालीमा सुधार आवश्यक छ। नेपालको आवश्यकता, भौगोलिक अवस्था र सम्भावनालाई आधार बनाएर शिक्षा प्रणालीलाई समयानुकूल बनाउनुपर्ने उनको भनाइ छ।
उनले प्लस टु तहमा विद्यार्थीका लागि पर्याप्त विषय र व्यावसायिक विकल्प उपलब्ध हुन नसकेको बताए। विज्ञान, व्यवस्थापन, मानविकी, होटल म्यानेजमेन्ट र नर्सिङजस्ता सीमित विषयमा मात्र केन्द्रित शिक्षाले विद्यार्थीको क्षमता र रोजगारीको सम्भावनालाई फराकिलो बनाउन नसकेको उनको धारणा छ।
पन्तले विद्यालय तहदेखि नै प्राविधिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। कम्प्युटिङ, प्रविधि तथा अन्य प्राविधिक विषय अध्ययन गर्ने अवसर प्रारम्भिक तहदेखि नै उपलब्ध गराउन सके विद्यार्थीको दक्षता विकाससँगै रोजगारीका सम्भावना पनि बढ्ने उनको भनाइ छ।
शिक्षा मात्रै दिएर नपुग्ने भन्दै पन्तले त्यससँगै रोजगारीका अवसर सिर्जना गर्नु सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताए। नेपालमा रोजगारीका अवसर सीमित हुँदा विद्यार्थीले आफ्नो डिग्रीको मूल्य र भविष्यबारे अन्योल महसुस गर्ने र त्यसकै कारण विदेश जाने प्रवृत्ति बढिरहेको उनले बताए।
उनका अनुसार विद्यार्थीको भिसा लाग्नुलाई नै सफलताको मापदण्ड मान्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक छ। विदेश गएर गुणस्तरीय शिक्षा, सीप र ज्ञान हासिल गरी सम्बन्धित क्षेत्रमा काम गर्न सके वा नेपाल फर्किएर प्राप्त ज्ञान र सीपको उपयोग गर्न सके मात्रै त्यसलाई वास्तविक सफलता मान्नुपर्ने पन्तको भनाइ छ।
विदेशमा सामान्य कामबाट समेत राम्रो आम्दानी हुने तर नेपालमा त्यस्ता कामका अवसर र आम्दानी सीमित हुने अवस्थाले पनि विद्यार्थीलाई विदेशतर्फ आकर्षित गरिरहेको उनले बताए। नेपालमै अध्ययनसँगै इन्टर्नसिप, अप्रेन्टिससिप र पार्टटाइम कामका अवसर सिर्जना गर्न सके विद्यार्थीले पढ्दै व्यावहारिक सीप हासिल गर्न सक्ने पन्तको धारणा छ।
विदेश अध्ययनलाई रोक्नुभन्दा विद्यार्थीलाई सही सूचना र उचित परामर्श दिनुपर्नेमा पनि उनले जोड दिए। विदेश जाने विद्यार्थीले कुन विश्वविद्यालय वा कलेज छनोट गर्ने, अध्ययनपछि कस्ता अवसर प्राप्त गर्न सकिन्छ र प्राप्त ज्ञान तथा सीपलाई भविष्यमा कसरी उपयोग गर्ने भन्ने विषयमा प्रभावकारी परामर्श आवश्यक रहेको उनले बताए।
त्यस्तै, विदेशबाट विद्यार्थी नेपाल ल्याउन नेपालका विश्वविद्यालय तथा कलेजले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र आवश्यक पूर्वाधार विकास गर्नुपर्ने पन्तले बताए। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अध्ययनसँगै आवास, सुविधा र अन्य आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
नेपालमै शिक्षा, सीप र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सके विदेश जाने बाध्यता घटाउन सकिने पन्तको निष्कर्ष छ। सरकारले शिक्षा र रोजगारीलाई एकअर्कासँग जोडेर नीति निर्माण गर्नुपर्ने र विद्यार्थीले नेपालमै आफ्नो भविष्य देख्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए।