काठमाडौँ - स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिवार हुने निर्वाचनका लागि फेकनका सदस्य तथा गेट वे स्टडीका प्रवन्ध निर्देशक रोशन खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।सन् २०१३ देखि फेकनमा सक्रिय सदस्य रहँदै आएका खरेल फेकनका कार्यकारी सदस्य पनि हुन्।

लामो समयदेखि शैक्षिक परामर्शको पेशामा रहेका खरेलले अस्ट्रेलियाका कलेजसँग निकट रहेर विद्यार्थीहरुको उच्च गुणस्तरिय शिक्षाका लागि सहजीकरण आएका छन्।
उनले भविष्यमा फेकनमा नेतृत्वको खडेरी लाग्ला भनि यस संस्थाको गरिमा र व्यावसायिक क्षेत्रलाई मजबुत बनाउनको लागि उम्मेदवारी दिएको बताएका छन्। उनले भने, 'फेकनले विगतमा उल्लेखनीय उचाइ हासिल गरेता पनि भविष्यमा अझ उत्कृष्ट नेतृत्वको खाँचो रहेको कारण मैले उम्मेदवारी दिएको हुँ। '
उनले आफू विगतमा एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरिसकेको र त्यस अवधिमा संस्थाको हित विपरीत कुनै कार्य नगरेर इमान्दार, जिम्मेवार र संस्थानिष्ठ भूमिकामा रहेर योगदान दिएको उल्लेख गरेका छन्। सदस्यको अवधिमा पनि आफूले संस्थाको आधारशिला थप बलियो र उच्च बनाउने भूमिका खेलेको खरेलको भनाइ छ।
खरेलले फेकन भित्रको कार्य सदस्यबीचमा आत्मियता बढाउँदै भविष्यमा संगठन विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'फेकन बाहिरबाट हेर्दा जति ठुलो संगठन छ भित्र कार्यसमितिमा पनि आत्मियता आवश्यक छ। म अहिले उपाध्यक्ष पदमा उम्मेदवारी दिदैँ गर्दा पनि समुह भित्र एकता चाहान्छु।'
उनले कुनै अतिशयोक्ति वा झुटा सपना नबेची इमान्दार प्रयास मार्फत फेकनलाई अझ सशक्त, समावेशी र अन्तर्राष्ट्रिय स्तरमा चिनिने संस्थाका रूपमा निर्माण गर्ने प्रतिबद्धता गरेका छन्।आफ्नो उम्मेदवारी स्वाभाविक, समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै उनले सबै फेकन सदस्यहरूलाई साथ, समर्थन र विश्वासका लागि आग्रह गरेका छन्।