काठमाडौँ- विद्यार्थीलाई अनुशासनको पाठ पढाउने त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूबाटै अध्ययन बिदा दुरुपयोग भएको तथ्य बाहिर आएपछि विश्वविद्यालय प्रशासन गम्भीर बनेको छ। अध्ययन बिदा लिएर विदेश गएका धेरै प्राध्यापकहरू नफर्किएको पाइएपछि त्रिविले छानबिन तीव्र बनाएको हो।
त्रिवि उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक तथा कर्मचारीहरूको खोजबिन गरिरहेको छ। समितिका अनुसार हालसम्मको प्रतिवेदनमा ३९८ प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गरेको देखिएको छ। तीमध्ये १९१ जना विदेशमै बसेका छन् भने २०७ जनाले अध्ययन पूरा गरेका छन्।
समिति संयोजक डा. काफ्लेका अनुसार नफर्किएका १९१ मध्ये १९ जनाले हालसम्म करिब ६ करोड रुपैयाँ त्रिविलाई फिर्ता गरेका छन् भने ४६ जनाले रकम फिर्ता गर्ने प्रतिबद्धतासहित निवेदन दिएका छन्।
यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले समेत चासो देखाउँदै छिटो छानबिन टुंग्याउन र आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको बताइएको छ।
समितिले असार मसान्तसम्म सबै विवरण संकलन गरी रकम फिर्ता गर्ने–नगर्ने तथा कारबाहीमा पर्ने प्राध्यापकहरूको सूची त्रिवि कार्यकारी परिषदमा बुझाउने तयारी गरेको छ। सबै रकम असुली भए करिब दुई अर्ब रुपैयाँ उठ्ने अनुमान गरिएको छ।
त्रिवि शिक्षक कर्मचारी नियमावलीअनुसार लगातार ९० दिनसम्म बिना सूचना अनुपस्थित रहने शिक्षक वा कर्मचारीलाई पदबाट हटाउन सकिने व्यवस्था छ। साथै, अध्ययन बिदा लिएर फर्किएपछि सोही अवधिसम्म विश्वविद्यालयमा सेवा गर्नुपर्ने प्रावधान पनि रहेको छ। तर, धेरै प्राध्यापकहरूले यही नियम उल्लंघन गरेको पाइएको छ।
छानबिनमा संलग्न स्रोतका अनुसार अध्ययन बिदा लिएर प्राध्यापकहरू प्रायः अमेरिका, बेलायत, क्यानाडा तथा युरोपेली देशहरू गएका र अध्ययनपछि परिवारसहित उतै बसोबास गरिरहेका छन्।
त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालले हालसम्म ६ करोड रुपैयाँ त्रिविलाई प्राप्त भइसकेको जानकारी दिँदै उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको बताए। उनले प्रतिवेदनलाई थप प्रमाणित गरी सार्वजनिक गर्ने तयारी भइरहेको पनि जनाए।
उनका अनुसार सरकारबाट पेन्सन सुविधा नपाउने त्रिविका शिक्षक कर्मचारीका लागि यस्तो रकम महत्वपूर्ण हुने र असुली हुने करिब दुई अर्ब रकम पेन्सन कोषसँगै केही पूर्वाधार विकासमा खर्च गरिने योजना रहेको छ।