बिराटनगर-पूर्वाञ्चल विश्वविद्यालयले १४ औँ दीक्षान्त समारोह मङ्गलवार सम्पन्न गरेको छ। मोरङको गोठगाउँस्थित केन्द्रीय कार्यालयमा आयोजित समारोहमा स्नातक, स्नातकोत्तर र एमफिल तहका गरी कुल ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित भएका छन्।
दीक्षितमध्ये स्नातक तहका ५ हजार २८८, स्नातकोत्तर तहका १ हजार ४१३ र एमफिल तहका ५ जना विद्यार्थी रहेका छन्। संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा बढी २ हजार २६४ विद्यार्थी दीक्षित भएका छन्। इन्जिनियरिङ संकायबाट १ हजार २६२, शिक्षा संकायबाट ९९८, विज्ञान तथा प्रविधि संकायबाट ७४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञान संकायबाट ६२४, कानुन संकायबाट ६२२ र मानविकी तथा सामाजिक विज्ञान संकायबाट १८५ विद्यार्थी दीक्षित भएका छन्।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। समारोह सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो।समारोहका प्रमुख अतिथि प्रा.डा. विवेक लाल (स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान, चण्डीगढका निर्देशक)ले विश्वविद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्दै आएको भन्दै प्रशंसा गरे। उनले विश्वव्यापी प्रतिस्पर्धाको युगमा उच्च शिक्षालाई अनुसन्धानमुखी, नवप्रवर्तनशील र रोजगारमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा मन्तव्य दिँदै मन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई दलीय राजनीतिबाट मुक्त राख्नुपर्नेमा जोड दिए।शैक्षिक संस्थाहरू स्वतन्त्र, निष्पक्ष र गुणस्तरीय हुन आवश्यक छ, उनले भने, राजनीतिक हस्तक्षेपले गुणस्तरमा असर पार्न सक्छ, त्यसैले यसलाई न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक छ।,
वि.सं. २०५२ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय हाल पूर्वी नेपालमा उच्च शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको छ। विश्वविद्यालयमा हाल ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
पछिल्ला वर्षहरूमा नयाँ कार्यक्रम विस्तार, एमबिबिएस कक्षा सञ्चालन र अनुसन्धान तथा प्राविधिक शिक्षामा जोड दिइँदै आएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु कुमार थपलियाले दीक्षित विद्यार्थीहरूको ज्ञानलाई समाजको हितमा प्रयोग गर्न आग्रह गर्दै विश्वविद्यालय केवल भौतिक संरचना नभई शैक्षिक मूल्य र विचारको आधार भएको बताए।