काठमाडौँ- सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।
समितिले जेठ ११ गते स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ अनुसार आवेदन माग गरिएको जनाएको छ। इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा उपलब्ध लिङ्कमार्फत दरखास्त दिन सक्नेछन्।
सरकारले नियुक्ति प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता प्रणालीमा आधारित बनाउन नयाँ कार्यविधि लागू गरेको जनाएको छ। नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १६ (क) अनुसार गठित समितिले उच्च शिक्षाको क्षेत्रमा अनुभव भएका योग्य व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नेछ।
कार्यविधिअनुसार उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धानमूलक लेख, विश्वविद्यालयसम्बन्धी शोधपत्र, चार वर्षे रणनीतिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कन गरिनेछ। त्यसपछि उपलब्ध भएसम्म प्रत्येक पदका लागि तीन–तीन जना उम्मेदवार योग्यता क्रमअनुसार सिफारिस गरिने व्यवस्था गरिएको छ।
उपकुलपति र शिक्षाध्यक्ष छनोट प्रक्रिया १०० पूर्णाङ्कको मूल्याङ्कन प्रणालीमा आधारित रहनेछ। प्रकाशित अनुसन्धान, पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण तथा अन्तर्वार्तालाई अङ्क प्रदान गरिनेछ भने अत्यधिक कम वा धेरै अङ्क दिँदा कारण खुलाउनुपर्ने प्रावधान राखिएको छ।
नयाँ कार्यविधिअनुसार उपकुलपति बन्न विद्यावारिधि उपाधि अनिवार्य गरिएको छ। साथै कम्तीमा १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा प्रकाशित लेख–रचनाको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारले बढीमा पाँच हजार शब्दको विश्वविद्यालयसम्बन्धी शोधपत्र र चार वर्षे रणनीतिक कार्ययोजना पनि बुझाउनुपर्नेछ।
यस्तै कुलसचिव पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा उच्च शिक्षा, शैक्षिक प्रशासन वा अनुसन्धान क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।