काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन्। सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाउँदै नयाँ कार्यविधिअनुसार आवेदन माग गरेको थियो।
आवेदन दिने उम्मेदवारहरूमा विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपति, त्रिविका बहालवाला डिन, विभागीय प्रमुख तथा वरिष्ठ प्राध्यापकहरू रहेका छन्। तर, आवेदन दिने ४३ जनामध्ये एक जना पनि महिला उम्मेदवार नरहनुले उच्च शिक्षा नेतृत्वमा महिलाको न्यून सहभागिता पुनः उजागर भएको छ। उम्मेदवारमध्ये त्रिविका कार्यवाहक उपकुलपति तथा इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. सुशीलबहादुर वज्राचार्य,मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.नन्दबहादुर सिंह, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापा, व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे लगायत छन्।

विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका त्रिविका वैज्ञानिक प्रा.डा. भीष्म कार्कीले पनि उपकुलपति पदका लागि आवेदन दिएका छन्। त्यस्तै व्यवस्थापन विभागका पूर्वडिन प्रा.डा. भोजराज अर्याल, शिक्षाविद् प्रा.डा. श्यामनारायण लाभ, पाटन क्याम्पसका सह–प्राध्यापक रघुवीर विष्ट लगायत अन्य शिक्षाविद्हरू पनि प्रतिस्पर्धामा छन्।
यसैगरी सेन्टर फर इन्टरनेसनल रिलेसनका कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद पाण्डे, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुली, मानविकी संकायका सहायक डिन प्रा.डा.तारा भुसाल, प्रा.टंकनाथ धमला, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विभागका पूर्वप्रमुख प्रा.डा. सोमप्रसाद खतिवडा, कानुन संकायका पूर्वडिन प्रा.डा. विजयसिंह सिजापति, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल वज्राचार्य तथा पाटन संयुक्त क्याम्पसका प्राध्यापक प्राडा माधव लम्साल पनि उपकुलपतिको दौडमा रहेका छन्।
कस्तो हुन्छ छनोट प्रक्रिया?
नयाँ कार्यविधिअनुसार उपकुलपति छनोटका लागि सिफारिस समितिले विज्ञ उपसमिति गठन गर्नेछ। उक्त उपसमितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टिपत्र, कार्ययोजना तथा प्रस्तुतीकरणको मूल्यांकन गरी उत्कृष्ट १० जनाको प्रारम्भिक सूची सार्वजनिक गर्नेछ।प्रारम्भिक सूचीमा परेका उम्मेदवारबारे सार्वजनिक राय–सुझाव संकलन गरिनेछ। त्यसपछि प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुनेछ। मूल्यांकन प्रक्रिया १०० पूर्णाङ्कमा आधारित रहने व्यवस्था गरिएको छ।
प्राध्यापकको अनुभव, विश्वविद्यालय वा प्रतिष्ठानमा नेतृत्वदायी जिम्मेवारी सम्हालेको अनुभव, प्रकाशित अनुसन्धान तथा पुस्तक, प्रशासनिक दक्षता, प्रस्तुतीकरण र अन्तर्वार्तालाई आधार बनाएर अंक प्रदान गरिनेछ। अत्याधिक कम वा धेरै अंक प्रदान गरिएमा त्यसको कारण खुलाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
अन्तिम चरणमा सर्वाधिक अंक प्राप्त गर्ने तीन जना उम्मेदवारलाई वर्णानुक्रमका आधारमा कुलपतिसमक्ष सिफारिस गरिनेछ। तीमध्येबाट एक जनालाई त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका रूपमा नियुक्त गरिनेछ।