म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय तथा प्रविधिमैत्री विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण र आवासीय सुविधा विस्तारका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको हो।
विद्यालय परिसरमा आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ’ को गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीका अनुसार विद्यालयलाई आवासीय स्वरूपमा रूपान्तरण गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइ प्रभावकारी बनाउने र खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको हो।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका, भौगोलिक रूपमा विकट तथा शैक्षिक पहुँचबाट टाढा रहेका क्षेत्रका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउने विद्यालयको योजना छ। आवासीय व्यवस्थासँगै अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक नतिजा सुधार गर्ने लक्ष्य राखिएको अध्यक्ष घर्ती क्षेत्रीले बताए।
गुणस्तरीय शिक्षा र प्रविधिमैत्री पठनपाठनको व्यवस्था गरेर बालबालिकालाई अध्ययनका लागि सहर बजार पठाउनुपर्ने बाध्यता कम गर्नु पनि अभियानको प्रमुख उद्देश्य रहेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक नन्दबहादुर खत्रीका अनुसार महायज्ञबाट तीन करोड रुपैयाँ संकलन गरी दुई करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ। महायज्ञ औपचारिक रूपमा सुरु हुनुअघि नै ४० लाख रुपैयाँभन्दा बढी सहयोग घोषणा भइसकेको उनले जानकारी दिए।
देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, स्थानीयवासी र शुभेच्छुकबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको प्रधानाध्यापक खत्रीले बताए। संकलित रकम विद्यालयको दीर्घकालीन शैक्षिक विकास र आवासीय पूर्वाधार निर्माणमा उपयोग गरिने लक्ष्य राखिएको छ।
महायज्ञ अवधिभर भागवत पाठ–पारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शनलगायत धार्मिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।
हाल कक्षा १ देखि १२ सम्म सञ्चालन भइरहेको विद्यालयमा १९६ विद्यार्थी अध्ययनरत छन्। विसं २०१७ मा स्थापना भएको यस विद्यालयमा विसं २०४७ देखि माध्यमिक तह र विसं २०६५ देखि कक्षा ११ र १२ को पठनपाठन सुरु भएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले जानकारी दिए।
महायज्ञ उद्घाटनका क्रममा प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु प्रमुख शैक्षिक चुनौती बनेको बताए। उनले दीपशिखा माध्यमिक विद्यालयले अघि सारेको स्मार्ट तथा आवासीय विद्यालयको अवधारणा ग्रामीण शिक्षाको सुधारका लागि प्रभावकारी हुन सक्ने धारणा व्यक्त गर्दै अभियान सफल बनाउन प्रदेश तहबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए।
महायज्ञ सुरु हुनुअघि कुहुँदेखि टोड्के हुँदै पूर्णगाउँ भएर पुनः कुहुँसम्म कलशयात्रा गरिएको थियो। विद्यालयले धार्मिक तथा शैक्षिक अभियानलाई जोडेर ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा र आवासीय सुविधाको विस्तार गर्ने अपेक्षा गरेको छ।