हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट दुई लाख १७ हजार ५७५ रुपैयाँ संकलन गरेको छ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा प्रस्तावित माध्यमिक तह सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रका स्थानीयवासी तथा सहयोगदाताबाट उक्त रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले जानकारी दिए।
प्रधानाध्यापक बुढाका अनुसार देउसीभैलो कार्यक्रम औपचारिक रूपमा सम्पन्न भइसके पनि विभिन्न व्यक्ति तथा सहयोगदाताले विद्यालयको शैक्षिक विकासका लागि सहयोग गर्ने क्रम जारी राखेका छन्। उनले विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिन सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
संकलित रकम यसै शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याइएको प्रस्तावित माध्यमिक तहको व्यवस्थापन तथा शिक्षकको पारिश्रमिकमा खर्च गरिने विद्यालयले जनाएको छ। माध्यमिक तहको पठनपाठन सञ्चालन गर्न आवश्यक शिक्षक व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन देउसीभैलो कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक बुढाको भनाइ छ।
ग्रामीण क्षेत्रमा माध्यमिक शिक्षाका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै गाउँमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयले स्थानीयवासी र सहयोगदाताको साथमा अभियान सञ्चालन गरिरहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण शाहीका अनुसार नजिकै रहेको सरस्वती माध्यमिक विद्यालय पुग्नसमेत तीन घण्टाभन्दा बढी समय लाग्ने भएकाले स्थानीय अभिभावकको मागअनुसार देबल आधारभूत विद्यालयमा माध्यमिक तह सञ्चालन गर्ने निर्णय गरिएको हो।
उनले स्थानीयस्तरमै माध्यमिक शिक्षा उपलब्ध गराउने उद्देश्यले गत फागुनदेखि कक्षा ९ र १० को पठनपाठन सुरु गरिएको जानकारी दिए।
तिहारको सांस्कृतिक परम्परालाई विद्यालयको शैक्षिक विकाससँग जोडेर सञ्चालन गरिएको यस अभियानले दुर्गम क्षेत्रका विद्यार्थीलाई आफ्नै गाउँमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीको आर्थिक तथा नैतिक सहयोगले विद्यालयको माध्यमिक तह सञ्चालनलाई थप सहज बनाउने विश्वास विद्यालयले लिएको छ।