काठमाडाैँ - सरकारले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा संघीय सरकारबाटस शर्त अनुदानका लागि १० अर्ब १६ करोड बजेट विनियोजन गरिएसँगै पारिश्रमिक वृद्धि हुने भएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी बजेटबारे जानकारी दिदैँ यस योजनाअन्तर्गत, सामुदायिक विद्यालयका कर्मचारीहरूका लागि सशर्त अनुदानको बजेट विनियोजन गर्ने र यसले ईसीडी र विद्यालयका कर्मचारीहरूलाई अझ थप प्रोत्साहन र सुविधा प्रदान गर्ने बताए।
यस्तै सरकारले प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी १ सय सामुदायिक विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न सरकारले २५ लाख बजेट अनुदान दिने भएको छ।
कक्षा ५ सम्मका बालबालिकालाई उपलब्ध गराइने दिवा खाजाको लागि १० अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ जसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन्।छात्रालाई निःशुल्क प्याड वितरण कार्यक्रमको लागि १ अर्ब २९ करोड विनियोजन गरिएको छ जसबाट १३ लाख छात्रा लाभान्वित हुनेछन्।
सरकारले मुसहर, डोम, चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गर्नको लागि २ अर्ब ४४ करोड बजेट अनुदान दिने भएको छ।यस्तै शिक्षाको कार्यक्रम स्थानीय तहमा पुगे पनि केन्द्रबाट यस्ता प्रकृतिको कार्यक्रम सञ्चालन गर्नका लागि २ अर्ब ७२ करोड विनियोजन गरिएको छ।
बर्दिबास, बुटबल, सुर्खेत र डडेल्धुरामा मेडिकल कलेजको पूर्वाधार निर्माण गर्न ५६ करोड रकम विनियोजन गरिएको हो।सरकारले शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ।