काठमाडाैँ - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प पारेसँगै देशभरका विद्यालयमा पठनपाठन प्रभावित हुन पुगेको छ। विद्यार्थी सार्वजनिक यातायात चढेर विद्यालय, क्याम्पस जान नसकेपछि पठनपाठन प्रभावित हुन पुगेको हो।
महासंघले आह्वान गरेको यातायात बन्दमा देशभरका यातायातसँग सम्बन्धित अन्य संघसंस्थाले साथ दिएसँगै सार्वजनिक यातायात सोमबार दिनभर गुणेनन्। सरकार र महासंघबीच वार्ता चलिरहेको भएपनि यातायात ठप्प पार्दा पठनपाठन प्रभावित हुन पुगेको हो। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, अखिल नेपाल यातायात मजदुरु संघ, नेपाल यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संगठनले समेत यसमा साथ दिएका छन्।
यसमा ट्याक्सी व्यवसायीको समेत साथ छ। यो आन्दोलनलाई ट्याक्सीसँग सम्बन्धित नेपाल ट्याक्सी चालक संघ, नेपाल मिटर ट्याक्सी सेवा प्राली, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज, अल नेपाल यातायात मजदुर संघ र बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले पनि साथ दिएको छ। फलस्वरुप राज्यले अत्यावश्यक सेवाका रुपमा सूचिकत गरेको यातायात सेवाबाट आम नागरिक वञ्चित भएका छन। जसको मारमा अभिभावक र विद्यार्थी समेत परेका हुन्।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा गण्डकीबाट सुरुवात भएको चक्काजाम देशभर आह्वान गरिएको हो। सार्वजनिक यातायात व्यवसायीहरु सवारीसाधन घरग्यारेज थन्क्याएर चक्काजाममा उत्रिएसँगै विद्यालय र क्याम्पस जाने विद्यार्थीहरू मारमा परेका हुन्।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२ ले संयुक्त विज्ञप्ति जारी गरी सोमबारदेखि देशव्यापीरूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएअनुरुप देशका विभिन्न ठाउँमा सार्वजनिक यातायात चल्न सकेनन्। काठमाडौँ उपत्यका लगायत देशभर विद्यालयको पठपाठन नै प्रभावित हुन पुग्यो। सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेपनि विभिन्न संघ संगठनहरूको मागको सिकार विद्यालय हुन पुगेको छ।
विशेष गरेर काठमाडौैँ उपत्यका र देशभरका प्रमुख सहरमा विद्यार्थीहरू सार्वजनिक यातायात चढेर विद्यालय, क्याम्पसमा जाने गरेका छन्। आन्दोलनको मारमा विद्यार्थीको पठनपाठन प्रभावित गर्न नहुनेतर्फ सरोकारवालाले चासो दिएका छन्।