काठमाडाैँ- शैक्षिक क्षेत्रमा यस साता घटेका प्रमुख घटनाको साप्ताहिक शैक्षिक गतिविधिलाई यहाँ पस्कने जमर्को गरेका छौँ। गत साता सरकार र शिक्षक महासंघबीच विद्यालय शिक्षा विधेयकमा समेट्नुपर्ने २७ बुँदाका विषयमा छलफल भएर ९ बुँदे सहमति हुनेदेखि, दक्षिण कोरीयामा अध्ययनका लागि जाने विद्यार्थीहरुका रोकिएको विदेश अध्ययन अनुमतिपत्र (एनओसी) खोलिएको, विदेश अध्ययनको नाममा १० महिनामा मुलुकबाट १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको, नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएको सम्मका समाचारले ईडियूसवालमा स्थान पाएका छन्। जेठ २५ गते आईतबारदेखि जेठ ३० गते शुक्रबारसम्म घटेका प्रमुख घटनालाई समेटेर संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरेका छौँ।
१, मन्त्रालय र शिक्षक महासंघबीच विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा सहमति भएको छ। संसदीय उपसमितिले ४ जेठमा समितिलाई प्रतिवेदन बुझाएपछि शिक्षक महासंघ लगायतका सरोकारवालाले विरोध जनाएका थिए। हालपनि जेठ १९ गते भएको २७ बुँदे सहमति सार्वजनिक नगरेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन्।
ईसीडी कति वर्षको बनाउने भन्नेमा पनि सहमति जुटेको छैन। उपसमितिको प्रतिवेदनमा ईसीडी २ वर्षको बनाउने भनिएको छ। दुई वर्षको बनाउँदा थप आर्थिक भार पर्ने भएकाले १ वर्षको ईसीडी बनाउनुपर्ने पक्षमा मन्त्रालय छ। शिक्षक महासंघ पनि १ वर्षकै ईसीडीमा सकारात्मक देखिएको छ।शिक्षा मन्त्रालय र महासंघबीच अस्थायी प्रकृतिका शिक्षकको हकमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला गर्नेमा सहमति जुटेको छ। बालविकास (ईसीडी)का विषयमा महासंघ र मन्त्रालयबीच अझै कुरा मिलेको छैन।
२, शिक्षक महासंघसँग भएको सहमति ऐनमा समावेश गर्न सरकार तयार, विधेयक अन्तिम चरणमा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघसँग भएको ९ बुँदे सहमति ऐनमा समावेश गर्न तयार भएको छ। अबेरसम्म बैठक बसेर ऐनमा समावेश गर्ने विषय मन्त्रालयले टुंगो लगाएको मन्त्रालयले जनाएको हो। गत चैत २० देखि शिक्षक महासंघले २९ दिन लामो सडक आन्दोलन गरेपछि १७ वैशाखमा ९ बुँदे सहमति भएको थियो। उक्त सहमति कार्यान्वयनका लागि सरकार तयार भएको हो।प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ईसीडी, निजी विद्यालय र शिक्षक महासंघसँग भएको सहमतिबारे सरकारको धारणा माग गरेको थियो।
३, अत्याधिक गर्मीको कारण विद्यालयहरु बन्द
गत साता विशेष गरि नेपालगन्ज, कपिलवस्तु, विरगञ्ज, चितवन जस्ता अत्याधिक गर्मि हुने ठाँउका विद्यालयहरु अत्याधिक गर्मीका कारण सिमित समयको लागि बन्द गरिएको छ। अत्याधिक गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा असर परेको र पठनपाठन कार्यमा संलग्न हुन कठिनाइ भएकोले हाल विद्यालयहरुले वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइरहेको छ।
४, ५ महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा क्रान्तिकारीहरुले विभिन्न माग राख्दै पाँच महिनाअघि लगाएको ताला खुलेको छ। अनेरास्ववियु क्रान्तिकारीले विभिन्न माग राख्दै गत १२ पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएको थियो। गत फागुनमा अनुसन्धान केन्द्रको कार्यालयमा तालाबन्दी थियो। तालाबन्दीपछि विश्वविद्यालयले राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक जर्मन चौधरीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो।
५, दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सरकारले बन्द गरेको एनओसी खुल्यो
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको भन्दै ’डी टु’ र ’डी फोर’ भिसामा स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई स्थगित गरेको एनओसी खुलाएको छ। मन्त्रालय यी कोर्समा अध्ययन गर्न जाने विद्यार्थीहरूले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको भनि एनओसी बन्द गरेको थियो।यसै बिचमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बैशाख ३० गते कोरियाको एनओसी तत्काल खुलाउन शिक्षमन्त्री रघुजि पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।
६, ४ दशक पछि पोखरा बहुमुखी क्याम्पसले पायो क्यूएए मान्यता
पोखरा बहुमुखी क्याम्पसले स्थापनाको ४ दशक पछि शैक्षिक उत्कृष्टताको प्रतीक मानिने ‘गुणस्तर प्रत्याभूति तथा प्रत्यायन’ (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ। २०४४ मंसिर १४ मा पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविको भवनमा स्थापना भएको क्याम्पस अहिले आफ्नै परिसर पोखरा ९ शान्तिवनमा सञ्चालनमा छ। स्थापनाको प्रारम्भिक चरणमा महेन्द्र मावि, नयाँबजारको भवन प्रयोगमा ल्याइएको थियो।
७, विद्यालय शिक्षा विधेयकमा एसईई राख्न सांसदहरू सहमत
विद्यालय शिक्षा ऐन जारी गर्ने तयारी अन्तिम चरणमा पुगेसँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने विषयमा सहमति जुटेको छ। संसदीय उपसमितिले ४ जेठमा समितिलाई बुझाएको प्रतिवेदनमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्ने निश्कर्षमा मन्त्रालय पुगेको हो। विद्यालय शिक्षा विधेयकमा पनि एसईई राखिएको थिएन। त्यस्तै हालमात्र विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बसेर संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेका हुन्। त्यस्तै अगामी ३० जेठसम्म मन्त्रालयले सबै पक्षसँग छलफल सकेर ३१ गते शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाउने तयारी गरेको छ।
८, केयुको ३०औँ दीक्षान्त समारोह एक हजार १२९ विद्यार्थी दीक्षित
काठमाडौँ विश्वद्यिालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न तह एवं विधामा एक हजार १२९ विद्यार्थी दीक्षित भएका छन्। समारोहमा स्कुल अफ आर्टसका १६३, स्कुल अफ एजुकेसनका १०२, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका ११०, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्ष्ताामा सम्पन्न भएको समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बे्रन्डन जी कारको प्रमुख आतिथ्य रहेको थियो।
९, अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याएका हुन्। मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो।
१०, विदेश अध्ययनको नाममा १० महिनामा मुलुकबाट बाहिरीयो १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ
विदेश अध्ययनको नाममा नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ का १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै बाहिरिएको नेपाल राष्ट्र बैँकले मंगलबार (जेठ २७) सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो। अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ।