काठमाडाैँ - प्रतिनिधि सभाका सांसदहरुले शिक्षामा न्युन बजेट विनियाेजन गरेकाे भन्दै सरकारकाे आलाेचना गरेका छन्। पूर्व अर्थमन्त्री लगायत प्रमुख दलका सांसदले नै सरकारकाे आलाेचना गरेकाे हुन्।
नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले थोरै विद्यार्थी संख्या रहेको विद्यालय मर्ज गर्ने वा गाभ्ने बाहेकको विकल्प नरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै महतले विद्यार्थीको संख्या कम रहेको विद्यालयहरुलाई भौतिक दुरीको हिसाबले नजिक पर्ने विद्यालयहरुमा गाभ्नुपर्ने बताएका हुन्।
उनले ग्रामिण क्षेत्रमा भौगोलिक दुरीका कारण शिक्षाबाट बञ्चित भएका विद्यार्थीहरुलाई होस्टेल र खाना बस्नको व्यवस्था सरकारले गर्नुपर्ने बताएका छन्। महतले यसरी विद्यालयहरु गाभिँदा थोरै बजेट विनियोजनले पनि विद्यार्थीहरुले धेरै सुविधा पाउने धारणा व्यक्त गरेका छन्।
साथै उनले स्थापित धेरै विश्वविद्यालयको कारण विश्वविद्यालय पनि सञ्चालन हुन कठिनाई भएको बताए। महतले विद्यार्थी सबै विदेशिदैँ गएको कारण विद्याथी नहँदा पनि प्रदेशगत रुपमा विश्वविद्यालय खोल्न आवश्यक नरहेको बताउदैँ स्रोत बिनाको संरचना प्रस्तावित गर्न नपाउने बताए।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले शिक्षामा विनियोजन भएको बजेटले गुणस्तरीय शिक्षा आर्जन हुन नसक्ने बताए। उनले बजारमा महङ्गी बढे अनुसार तलब कम भएको दाबी गरे।
पाण्डेले सरकारले रोजगार सिर्जना हुनेसक्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षालाई नै प्राथमिकता नदिएको कारण यूवाहरु बिदेशिन बाध्य भएको बताए। साथै पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।
यस्तै नेकपा माओवादी केन्द्रका सांसद एंव पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले शिक्षामा सिमित बजेट छुट्याएकाे भन्दै आलाेचना गरेका थिए।