काठमाडाैँ - प्रतिनिधि सभाका सांसदहरुले असार १५ भित्र शिक्षा ऐन पारित हुनुपर्नेमा जाेड दिएका छन्। पूर्वमन्त्री लगायत प्रमुख दलका सांसदले नै शिक्षा ऐन पारित हुन आवश्यक रहेकाे बताउदैँ पारित हुनुपर्नेमा जाेड दिएका हुन्।
नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल नेपाल निर्माणको लागि सरकारले आईटि विषयलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। बैठकमा बोल्दै कार्कीले सरकारले प्राविधिक क्षेत्रलाई जोड दिए यूवाहरु विदेश पलायन नहुने बताएका हुन्।
उनले नेपालमा बेरोजगार न्युनिकरण गर्न र विकास समृद्धीको लागि प्राविधिक शिक्षा आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, आईटीको विकासले नेपालको युवाहरुको लागि अवसरको ढोका खुलाउँछ। विदेशी मुलुकले आईटी सेवाको निर्यातबाट बर्षको अरबौँ कमाईरहेको छन्। यसै कुरालाई ध्यानमा राखी नेपालले आईटी क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्दछ। अनि मात्र डिजिटल नेपाल सम्भब छ।
माओवादी केन्द्रका उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले सरकारले शिक्षक महासंघसँग असार १५ भित्र शिक्षा ऐन पारित गर्ने भनि गरेको सहमति कुनैपनि हालतमा पारित गर्नुपर्ने बताएका छन्। उनले लाखौँ शिक्षकहरु आशाको दियो बालेर कुरीरहेको कारण सरकार कुनै पनि बाहानामा पछि हट्न नपाउने धारणा व्यक्त गरेका छन्। उनले नेपाल सरकारले कुनै पनि विधेयकलाई कारण देखाएर टार्न नहुने बताएका छन्।
पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले निजिकरण शिक्षा महङ्गो भएको बताएका छन्। उनले महङ्गो शिक्षाको कारण विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुन बाध्य भएको बताएका छन्। ज्वालाले सरकारले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न ध्यान नदिएको बताएका छन्। उनले एआई तथा प्राविधिक विकासले आर्थिक क्रियाकलापमा तिब्रता ल्याउने भएकोले शिक्षा क्षेत्रमा विनियोजित ७० प्रतिशत बजेट प्राविधिक शिक्षामा लगानी गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादबले यो बर्ष शिक्षा क्षेत्रले फड्को मार्ने अवसर प्राप्त गरेकोे बताएका छन्। उनले यस बर्ष शिक्षामा बजेट धेरै विनियोजन भएको र ऐन पनि जारी हुन लागेको बताउदैँ शिक्षा क्षेत्रले नयाँ स्वरुप प्राप्त गर्ने बताए।यादबले शिक्षा क्षेत्र विकासको लागि सरोकारवालाहरुले प्राविधिक र चिकित्सा क्षेत्रलाई विशेष प्राथमिकता दिए शिक्षा सुधार पनि हुने र युवाहरु उच्च शिक्षा अध्ययनको लागि विदेश पलायन नहुने धारणा व्यक्त गरेका छन्।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जु कुमारी झा ले आफु र आफ्नो पार्टी विनियोजन भएको बजेट प्रति सन्तुष्ट भएको बताउँदै सरकारलाई धन्यावाद ज्ञापन गरिन्।