काठमाडाैँ - शिक्षक महासंघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक संसद्मा पेस गर्ने समय एक साता मात्र बाँकी छ।१५ असारभित्र विधेयक पेस गर्ने डेटलाइन छ तर प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न सकेको छैन।
समिति सभापति अम्मरबहादुर थाप सोमबार बैठकबारे सूचना आउने बताउँछन्। ‘भोलि एउटा सूचना आउँछ,’ उनले भने। यद्यपि शिक्षा समितिका अनुसार विधेयक १५ असारभित्र नै संसद्मा पेस गर्नेगरी काम भइरहेको छ।
विधेयकको विवादित विषयमा परामर्श समन्वय उपसमितिले गृहकार्य गरिरहेको छ । सोमबारसम्म उपसमितिले टुंगो लगाएर समितिको बैठक बोलाउने तयारी छ। ‘सभापतिको अध्यक्षतामा उपसमितिको बैठक बस्छ। १५ असारभित्र नै संसद्मा पेस गर्नेगरी काम भइरहेको छ,’ समितिको एक सदस्यले भने।
एमाले संसाद एवं यसअघि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मालाई पनि विवादित विषयमा सूक्ष्म अध्ययन गर्ने जिम्मा दिइएको छ।शिक्षा समितिका अनुसार शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समितिको सचिवालय पनि यसैमा सक्रिया भएर काम गरिरहेको छ।
‘सबै पक्षबीच छलफल र गृहकार्य भइरहेको छ। उपसमितिले विवादति विषयमा टुंगो लगाएपछि समितिको बैठक बसेर पास गर्ने योजना छ,’ समितिका एक सदस्यले भने।
निजी विद्यालय गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन, ईसीडी, अस्थायी प्रकृतिका शिक्षकको आन्तरिक ६० र खुला ४० प्रतिशत, एसईई, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण लगायतका विषय पेचिलो बनेको हो। यी विषयमा परामर्श समन्वय समितिले सहमतिको प्रयास गरिरहेको छ।