काठमाडाैँ - नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले गत आर्थिक वर्ष ०८१-८२ मा एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढीले विदेश पढ्न जाने नाममा पैसा विदेशिएको देखाएको हो।
अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै बाहिरिएको थियो।त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेश भ्रमण गर्न जानेले ८५ अर्ब २४ करोड रुपैयाँ विदेशमा खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भएर ८८ अर्ब ६६ करोड पुगेको तर, खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको राष्ट्र बैँकले जनाएको छ।
गत आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययनका लागि हालसम्मकै उच्च संख्यामा विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र(एनओसी) लिएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शाखाका अनुसार गत आर्थिक वर्ष २०८१-०८२ मा नेपालबाट विदेशमा अध्ययन गर्न जान १ लाख २३ हजार ५ सय ८९ जनाले एनओसी लिएका हुन्। एनओसी शाखाले प्रत्येक दिन ३५० देखी ४ सय एनओसी जारी गर्ने गरेको छ।
आवेदकहरुले जुनसुकै देशमा वैदेशिक अध्ययनमा जानको लागी बैकीङ सम्बन्धि कारोबार र अध्यागमनबाट स्वीकृती लिनको लागी एनओसी लिने गरेको एनओसी शाखा प्रमुख विरेन्द्र जंग थापाले बताए। अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा १ लाख १२ हजार ५९३ जना विद्यार्थीले एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। त्यस्तै २०७९-८० मा एनओसी लिने विद्यार्थीको संख्या १ लाख १० हजार २ सय १७ जना रहेको थियो। त्यसैगरि आर्थिक वर्ष ०७८-७९ मा १ लाख १२ हजार ९६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए।
गत वर्ष ६४ देशमा अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ। २०८१ साउनदेखि ०८२ असार मसान्तसम्म सबैभन्दा बढी जापानका लागि ३९ हजार ८ सय ४७ जनाले एनओसी लिएका छन्। जापानपछि नेपाली विद्यार्थीका आकर्षणमा क्रमशः बेलायत, अस्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, क्यानडा, लगायत देश परेको देखिन्छ। यी देशमा जाने विद्यार्थीले बाट ठूलो धनरासी विदेशिएको छ।
पछिल्लो समय नयाँ पुस्ताले भिसा प्रक्रिया सहज हुने र नयाँ फरक फरक अवसरको अवोलकन गर्न रुचाउने भएकोले विदेश अध्ययनलाई रोज्ने गरेको गोरेटो एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलले बताए।
विद्यार्थी रहरले भन्दा पनि अवसरका खोजीमा विदेशीएका छन्। उनीहररूबाट ठूलो धनरासी विदेशिएको पनि छ। यस विषयमा सरकारले ध्यान दिदैँ नेपालमै अवसरको सुनिश्चितता गर्न सके विदेश अध्ययनका लागि यति ठूलो रकम विदेशीने थिएन।