काठमाडाैँ - भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले देशभर प्रदर्शन गरेका छन्। उनीहरुले स्वतःस्फूर्त रुपमा देशभरका प्रमुख सहरहरूको चोकचोकमा प्रदर्शन गरेका हुन्। उनीहरूले काठमाडौँको माइतीघर मण्डला लगायत देशभरका प्रमुख सहर काठमाडौँ, पोखरा, वीरगन्ज, झापा, इटहरी, बुटवल, रुपन्देहीका विभिन्न चोकमा भेला भएर प्रदर्शन गरेका हुन्।
माइतीघरबाट सुरु भएको जेन्जीको आन्दोलन निषेधित क्षेत्र समेत तोडेर संघीय संसद भवनमा प्रवेश गरेसँगै आन्दोलनले उग्र रुप लिएको थियो। २०६२/०६३ को जनआन्दोलनको झल्को दिने गरी जेनजीले नयाँबानेश्वर संसदभवन अघि प्रदर्शन गरेका थिए।
बानेश्वरकेन्द्रित जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक दर्जन भन्दा बढीको मृत्यु भएको छ। उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ६ जनाको र सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३ जना , केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो। यस बाहेक ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइतेहरु उपचारत छन्।
जेन्जीको देशव्यापी आन्दोलनमा हवाई फायर, असुर ग्यास, लाठी चार्ज, तोडफोड लगायतका अनियन्त्रित कार्यहरुबाट सयौँ यूवा घाइते भएका छन् प्रदर्शनकारीहरू संसद भवन भित्र प्रवेश गरेपश्चात काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर, माइतघर, तीनकुने र शंखमुल क्षेत्रमा दिउसो साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाएको हो। केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु भएको छ। प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो। घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ।
कर्फ्यू लाई समेत नटेरी काठमाडौँ भित्र जेन्जी प्रदर्शनकारीहरूले मीनभवनस्थित यातायात कार्यालय वरपर प्रदर्शन जारी राखेका थिए। यसैगरी देशभर भरतपुर महानगरपालिका, गण्डकी मुख्यमन्त्री कार्यालय लगायत इटहरी उपमहानगरपालीकाको गेटमा रहेको बहुउदेश्य सहकारीको भवनमा जेनजी प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन्। जेनजीको आन्दोलनले उग्र रुप लिएपछि पोखरामा समेत निषेधाज्ञा आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ।
देशव्यापी रुपमा चलेको यस आन्दोलनमा सुनसरीको इटहरी, रुपन्देही, पोखरा र विरगञ्जमा प्रहरीले गोली प्रहार र हवाइ फायर चलाएको थियो। जेनजी पुस्ताले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन्। पदर्शनमा युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिएका थिए।
जेन्जी पुस्ताको यस आन्दोलनलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन्। यस आन्दोलनलाई सरकारले दमन गरेको र निहत्था युवामाथि गोलिप्रहार भएको भन्दै सवत्र आलोचना भएको छ।