काठमाडाैँ- अन्तरिम सरकार गठनका लागि जेन-जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेसँगै उनीहरूका मागका विषयमा छलफल भएकाे छ। जेन-जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल गरेर आफ्नाे धारणा सार्वजनिक गरेका हुन्। केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएसँगै अहिले मुलुकलाई एउटा निकास दिनुपर्ने आवश्यकता छ।
हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन–जीको एक–एक थोपा रगतको बदला लिने बताए। उनले कसैलाई नछाड्ने चेतावनी दिए। उनले जेन–जी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे। आफूले अहिलेसम्म नेपालको झण्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिलेसम्म समर्थन नगरेकाे बताए।
जेनजी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए। सबैले आ–आफ्नो स्थानमा समूहबद्ध भई टोलको सुरक्षा र राष्ट्रको पुनर्निर्माणको निमित्त नेपाली सेनालगायतका सुरक्षा निकायको समन्वयमा शान्ति, सुशासन र सुव्यवस्था कायम गराउनुपर्ने उनले बताए।
त्यसैगरी, जुनाल गदालले अब यतिबेला जेन–जी संयमित हुन जरुरी रहेको बताए। ‘जसरी हिजो हामीले तोडफोड गर्यौं। आक्रोशमा थियौँ। अब हामी संयमित हुन जरुरी छ। आज देशमा जेन–जी युवाहरु एक भएनौँ भने पुराना दलहरुलाई फाइदा हुने स्थिति छ,’– उनले भने।
भ्रष्टाचार तीब्र रुपमा बढिरहेको र देशमा आम नेपाली बाँच्न एकदमै गाह्रो भइरहेको उनले बताए। भ्रष्टाचार र अत्याचारको सीमा नाघिसकेको अवस्था युवा देशको कुना–कुनाबाट युवाहरु जाग्दा के हुन्छ भन्ने कुरा जेन–जी आन्दोलनले प्रष्ट पारेको उनले बताए।
त्यसैगरी, अनिल बानियाँले जेन–जीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए। उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ। उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन्। यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन्। हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटोमोलका अभाव छ। देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ। हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौँ। केही झोले कार्यकर्ताहरु आएर देशको संरचनामाथि आगो लगाएका छन्।’
ओजस्वीराज थापाले जेन–जीले अहिले लिडरसीप लिन नसक्ने र लिन पनि नहुने बताए। जेन–जी अहिल ‘वाच डग’ को रुपमा मात्रै रहनुपर्ने उनको भनाइ छ। ‘हामीले जेन–जीको प्रतिनिधित्व गरेका हौँ। तर, हामीलाई लिडरसीप लिनु छैन। सायद हामी तत्काल यो देशको लागि क्यापेबल पनि छैनौँ। हामीलाई परिपक्व हुनका लागि समय लाग्छ। अहिले हामी ‘वाच डग’ को रुपमा मात्रै बस्नेवाला छौँ,’– उनले भने।
साथै, उनले आफूहरुको माग संसद् विघटन भएपनि संविधान खारेजीको पक्षमा आफूहरु नरहेको बताए। संविधान संशोधन भए पनि खारेज भने नहुने उनले बताए। जेन–जीको पहिलो प्राथमिकता भनेको सुशासन कायम गर्नु रहेको उनले बताए।
त्यसैगरी, सुदीप सेठले जेन–जी संविधानअनुरुप नै अगाडि बढ्ने बताए। भ्रष्टचारमुक्त र कानुन बुझेर गाइड गर्न सक्ने व्यक्ति पनि भएकाले जेन–जीको समर्थन पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई रहेको उनले बताए। ‘हामी संवैधानिक रिक्ततामा छैनौँ। हामी नेतृत्वविहीन राज्यमा रहेपनि हामीसँग संविधान छ। हाम्रो संविधानको रक्षा गर्ने राष्ट्रपति पनि हुनुहुन्छ। संविधानअनुरुप नै हामी अगाडि बढ्ने छौँ,’उनले भने।
जेन–जी अभियन्ता पुरुषोतम यादवले आफूहरुको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्कीमाथि रहेको बताए । प्रदीप पाण्डेले जेन–जी जहिले पनि भ्रष्टाचारको विरुद्धमा रहेको बताए। उनले जेन–जी एकीकृत रहेको बताए । अर्का वक्ता मदन खत्रीले भ्रष्टाचारलाई जेन–जीले नै सुधार गर्नुपर्ने बताए।
प्रेरणा अधिकारीले सबै जेन–जीहरु एकीकृत हुनुपर्ने र पार्टीका भरौटेहरुले जेन–जीको नाममा राजनीति गर्न नहुने बताईन्। अब बन्ने अन्तरिम सरकारबारे पनि सबै जेन–जी मिलेर सेनासँग वार्ता गर्नुपर्ने उनले बताईन्। सेनासँग हुने वार्ता पनि लाइभ हुनुपर्ने र अबदेखिका सबै कुरा पारदर्शी हुनुपर्ने उनको धारणा छ।
अर्का वक्ता अर्जुनविक्रम शाहीले देश बनाउन हिजोका पुस्ताबाट परिवर्तन सम्भव नरहेको बताए। युवाहरुबाहेक अरु कुनै पनि विकल्प छैन भन्ने अन्तिम निष्कर्षसहित आफूहरु आन्दोलनमा होमिएको पनि उनले बताए। यो आन्दोलन २ वर्षको मेहनतको परिणाम रहेको पनि उनले बताए।