काठमाडाैँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सरकारले जेनजी पुस्ताको सोच बमोजिम काम गर्ने र आगजनी गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। उनले सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको र यस्ताे अमानविय गतिविधिमा संलग्नलाई कारवाही गर्ने बताएकी हुन्। उनले व्यक्तिगत सम्पत्ति क्षति भएकालाई पनि सहयोग गर्ने बताएकी छन्।
उनले सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने? प्रश्नसमेत गरिन्। प्रधानमन्त्री कार्कीले यसप्रकारको घटना पहिलो पटक भएको बताइन्। उनले भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने बताइन्।
'यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ। प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले। अदालतका फाईलहरु सम्पूर्ण नष्ट भए। हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाईलहरु थिए, ती नष्ट भएर गए,' उनले भनिन्, 'बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाँहि शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट गर्ने काम भएको छ। मलाई यो देखेर लाज पनि लागेको छ।'
उनले यस्ता घटनाहरूको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताइन्।' यहाँहरु सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकारको मन्त्रिमण्डल गठन हुनुपर्ने आवश्यकता पर्न आयो। २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन पुगेको छ। देशभरीमा ४० जना जति युवा युवतीहरुले मृत्युवरण गर्नुपर्यो। र, सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सर्वोच्च अदालत, तराईका जम्मै जिल्ला अदालतहरु, उच्च अदालतहरु लगायत सिंहदरबार समेत सम्पूर्ण आगोमा विभत्स तरिकाले जलेर गयो। हाम्रा रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को एउटा समस्या, ठूलो समस्या। भौतिक क्षतिले केही हुँदो रहनेछ। त्यो त बनाउन पनि सकिन्छ। ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ। हाम्रो अवस्था शून्यमा छ। हाम्रा सुरक्षा निकायमात्र जलेन, सुरक्षाकर्मीहरुको पनि देहावसान भयो। अहिले हाम्रो सम्पूर्ण देशभरिका सुरक्षाकर्मीहरुलाई दिएका बाहनहरु अर्को खरिद नगरी नहुने अवस्था विद्यमान छ।'
उनले भनिन्, 'हत्या हिंसा भयो, चाहे हत्या होस्, चाहे आगजनीका कुराहरु भएका छन्, यो टिपिकल कस्तो भने मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानीछानी प्रहार भएको छ। प्रहरीहरु सुरक्षाको लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो। बिटहरु, प्रहरीका चौकी, थानाहरु सबै जले। अदालतका फाइलाहरु सम्पूर्ण नष्ट भएर गयो। हाम्रै सिंहदरबारभित्रका पनि कयौं त्यस्ता पुराना फाइलहरु सबै नष्ट भएर गयो।'