काठमाडौँ- पछिल्लो समय विदेश अध्ययनमा जान चाहने विद्यार्थीको संख्या उल्लेख्य छ। विद्यार्थी स्वदेशमा भन्दा विदेशमा रोजगारीको अवसर भएको भन्दै विदेशिने गरेको तर्क व्यवसायीको छ। शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा विद्यार्थी एंव अभिभावकले दुःख पाउने गरेका छन्। उनीहरूले विदेश अध्ययनमा जानुअघि गर्नुपर्ने तयारी, परामर्शदातृ संस्था छनोट गर्दा ध्यान दिनुपर्ने कुरा, शैक्षिक परामर्श क्षेत्रका मुलभुत विषयमा नेपाल शैक्षिक परामर्श संघ इक्यानका उपाध्यक्ष विकल्पराज पोखरेलसँग गरिएको कुराकानीको मुख्य अंश।
अब बन्ने सरकारले शैक्षिक परामर्श क्षेत्र केन्द्रित के – कस्ता गतिविधी गर्न आवश्यक छ?
लामो अन्योलताको अवस्थाबाट नयाँ सरकार बनेको छ। युवा पुस्ताको नेतृत्वमा सरकार बन्दै गर्दा अब सरकारको प्राथामिकता के हुने र सरकारले लिने नीतिमा आगामी दिन निर्भर गर्दछ। मेरो दृष्ट्रिकोणमा हरेक नेपाली विद्यार्थीमा नयाँ आशा पलाउन सकोस्। स्वदेशमै बसेर नेपाली यूवाहरुले केहि गरुन् भन्ने हो।
अर्को तर्फ विदेश जाने घट्नु पर्छ, स्वदेशमै पढनुपर्छ भन्ने मान्यतामा म विश्वास गर्दिन। विदेशको अध्ययनले स्वदेशलाई बाह्य परिवेशको ज्ञान भित्राउन झनै मद्दत गर्छ।
विदेश अध्ययनमा जाने विद्यार्थीको बढ्दो क्रममालाई रोक्न सरकारले के गर्नुपर्छ?
विदेश अध्ययनमा जान चाहने विद्यार्थीका लागि सरकारले नेपालमै पढ्ने वातावरण बनाउन सक्नुपर्छ। विश्वव्यापिकरणको समयमा व्यक्ति आफूलाई जहाँ र जसरी अनुकुल हुन्छ त्यसरी नै विदेशमा पढ्न गएका छन्।
जहाँ अवसर छ त्यहिँ जान र रहन पाउनु पर्छ। हाम्रो सन्दर्भमा पनि विद्यार्थीहरु परिपक्क भैसकेका छन्। पुरानो मान्यतावाट हेर्नू भन्दा नयाँ मान्यतामा आजका पुस्तालाई हेर्नुपर्छ। अध्ययनका लागि विदेश जान रोक्नु भन्दा गईसकेका विद्यार्थीलाई अध्ययन सकेपछि फर्कने वातावरण र नेपालमा विदेशका विद्यार्थी भित्राउने नीति बनाउने तर्फ राज्यको ध्यान जान जरुरी छ।
विद्यार्थीको भविष्य केन्द्रित भएर शैक्षिक परमार्श दाताले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
अहिलेको समयमा शैक्षिक परामर्शदाता अथवा कनसल्टेन्सिहरुले विद्यार्थीहरुलाई विदेश पढन जानुपर्छ भन्ने आवश्यकता देखिदैन। नयाँ पूस्ता आफै सचेत छन्। कम्प्युटरमा बसेर कहाँ, कसरी र के पढ्दा अवसर हुन्छ, उनीहरुले सजिलैसँग थाहा पाउने अवस्था छ।
अर्को सन्दर्भमा हालै सम्पन्न निर्वाचनले पनि मोवाइल, सामाजिक सञ्जालहरुको प्रभावको अनुभुति गर्न सकिन्छ। त्यसैले कन्सल्टेन्सिहरुले विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्नुका साथै भिषा प्रोसेसका लागि डकुमेन्टेसनमा सहयोग गरिदिने मात्र हो। हामीले सही सूचना दिने हो।
विद्यार्थीलाई विश्वविद्यालयमा अध्ययन पश्चातको अवसरका बारेमा जानकारी दिने हो। हामीले दिएको जानकारीका आधारमा कोही पनि पिडित बन्नु हुँदैन भन्ने मान्यता हाम्रो हो।
नेपालबाट यति धेरै विद्यार्थी विदेश जाने गरेका छन् के सवै अध्ययनका लागि मात्र गएका हुन् त?
यो सन्दर्भमा २० वर्ष अगाडी विदेश अध्ययनमा गएका विद्यार्थी अध्ययन पष्श्चात नेपालमा फर्कन जरुरी हुन्छ। जब सरकारले विदेश जान खुल्ला गर्यो, त्यतिबेलादेखि गएकाका सन्तानहरु अहिले विदेश जान तयार भइसकेका छन्। हाम्रो देशवाट मात्र विद्यार्थीहरु बाहिर गएका छैनन्।
नेपालबाट ५० प्रतिशत डाक्टर, ६० प्रतिशत नर्स, ४० प्रतिशत इन्जिनियर, ७० प्रतिशत होटल म्यानेजमेन्टका ग्राजुएट विभिन्न देशमा रोजगारी गरिरहेका छन्। विद्यार्थी भिषामा विदेश जान सजिलो हुने भएकाले उक्त संख्या बढेको हो।
अर्को प्राय सबै देशहरुले नेपाली विद्यार्थीहरु स्वीकार गरेको अवस्था पनि छ। त्यसैले यो प्रवृत्तिलाई रोक्नु भन्दा पनि अध्ययन पछि फर्केर आउने वातावरण सरकारले बनाउन आवश्यक छ।
ईक्यानले नयाँ कार्यसमिति आईसकेपछि शैक्षिक परामर्श क्षेत्र केन्द्रित के – कस्ता गतिविधी गर्दैैछ?
ईक्यानको नयाँ कार्यसमिति आईसकेपछि केहि क्षेत्रहरुमा कार्य गर्न सुरु गरेका छौँ। यो क्षेत्रलाई कसरी बलियो र समृद्ध बनाउने भन्ने सन्दर्भमा हामी काम गरिनै रहेका छौँ।
हामी छिट्टैनै विदेशका विश्वविद्यालयहरुसँग वृहत अन्तरक्रिया गर्दैछौँ। यसकासाथै देशमा नयाँ सरकार बनेको सन्दर्भमा सरकारसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने सवालमा पनि छलफल गर्दैछौँ। समग्रमा ईक्यानलाई जिबन्त संस्थाका रुपमा अघि बढाउँदै छौँ।