काठमाडाैँ - नेपालमा ईन्जिनियरिङ शिक्षामा आर्कषण बढ्दै गएको छ। हाल विभिन्न विश्वविद्यालय अन्तरगत ३ दर्जन भन्दा बढि कलेजहरुले ईन्जिनियरिङका विषयहरु अध्यापन गराउदै आएका छन्। विश्व वजारमा आएका नयाँ नयाँ विषयहरु पनि नेपालमै अध्यापन हुदै आएको छ। यसले ईन्जिनियरिङ अध्ययन गर्नका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको छ। केहि वर्ष अघि त्रिभुवन विश्वविद्यालयको ईन्जििनियरिङ अध्ययन संस्थान अन्तरगत पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा समेत विद्यार्थीको कोटा खाली भएको समाचार संचार माध्यममा आएको थियो। तर अहिले यस्तो अवस्था नरहेको कलेज सञ्चालकहरुको भनाई छ। नेपालमा ईन्जिनियरिङ शिक्षा, अहिलेको अवस्था तथा सम्भावनाका विषयमा एभरेष्ट ईन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा.डा. हरिकुमार श्रेष्ठसँग गरिएको कुराकानी :
नेपालमा ईन्जिनियरिङ शिक्षाको अवस्था कस्तो छ?
विकासको आधारनै ईन्जिनियरिङ शिक्षा हो। संसारमा जति पनि विकास भएको छ,याे सवै ईन्जिनियरिङ शिक्षाकै देन हो। नेपाल जस्ता विकासका सम्भावना भएका मुलुकहरुमा त यसको महत्व र आवश्यकता बढि रहेको छ। यहि महत्व र आवश्यकतालाई ध्यान दिदै यस अन्तरगतका बिभिन्न विषयहरु नेपालमै पढाई हुदै आएको छ।
विश्वमा आएका नयाँ नयाँ विषयहरु पनि नेपालमै अध्ययन गर्न सकिने अवस्था छ। अर्को तर्फ ईन्जिनियरिङ अध्ययन गराउने शैक्षिक संस्थाको संख्या पनि धेरै रहेको छ। हरेक ठुला सहरहरुमा कम्तीमा पनि एक ईन्जिनियरिङ कलेज सञ्चालनमा रहेको छ। विश्वविद्यालयमा पनि अधिकांशले ईन्जिनियरिङ शिक्षालाई प्राथमिकता दिएको पाईन्छ।
ईन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरु विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको हो?
बिगतमा त्रिविको ईन्जिनियरिङ अध्ययन संस्थान अन्तरगतको कलेज सहित केही संख्यामा कलेजहरु रहेका थिए।अध्ययन गर्नका लागि प्रतिस्पर्धा तिब्र हुने अवस्था रहेको थियो। त्यसैले पनि विभिन्न देशहरुमा गएर नेपाली विद्यार्थीहरुले अध्ययन गर्ने प्रचलन रहेको थियो। कतिपय विद्यार्थीहरु विभिन्न छात्रवृत्ति प्राप्त गरेर विभिन्न मुलुकमा गई अध्ययन गरेको अवस्था पनि हो।
त्यसैगरि नेपालमा अध्ययन गर्न नपाईने विषयहरु अध्ययन गर्न पनि विदेश जाने अवस्था रहेको थियो। तर अवस्था फेरिएको छ। नेपालमै प्राय सवै विषयहरु कम शुल्कमै अध्ययन गर्न पाउने अवस्था छ। अहिले ईन्जिनियरिङ पढनकै लागि विदेश जानुपर्ने अवस्था छैन। ईन्जिनियरिङ पढेर नेपालमै काम गर्छु भन्ने विद्यार्थीहरुले विदेश जानु भन्दा यँही पढ्दा अझ यहाँको वस्तुस्थिति सँग घुलमिल हुने अवसर प्राप्त हुन्छ। गुणस्तरको कुरा गर्दा पनि विश्वका कुनै पनि विश्वविद्यालय र कलेजको भन्दा नेपालको ईन्जिनियरिङ शिक्षाको गुणस्तर कम छैन।
तथापि आजको जमानमा मानिसहरु विभिन्न अवसरको खोजीमा विभिन्न देश जान चाहनुलाई स्वभाविक मानिन्छ।
नेपालमा इन्जिनियरहरुको आवश्यकता र सम्भावनालाई कसरी हेर्न सकिन्छ ?
नेपालमा विकासको प्रचुर सम्भावना भएका कारण थुप्रै संख्यामा दक्ष जनशक्तिको आवश्यकता देखिन्छ। सडक, हाइड्रो, टनेल , भवन जस्ता थुप्रै क्षेत्रमा काम हुने सम्भावना रहेकाले पनि इन्जिनियरहरुको आवश्यकता बढदै जाने देखिन्छ। अहिले पनि नेपालका इन्जिनियरहरुले एक सय मिटरभन्दा अग्ला ड्याम निर्माण गरिसकेका छन्।बाटो,पुल लगायतका ठुला स्ट्रक्चरका कामहरु नेपाली इन्जिनियरहरु मार्फत भएका छन।
त्यस्तै सुचना प्रविधि तर्फ पनि नेपालले ठुलो प्रगति गरिरहेको छ। नेपाली इन्जिनियरहरुले बनाएका सफ्टवेयर विश्वका ठुला उधोग तथा प्रतिष्ठान हरुले प्रयोग गरिरहेका छन्। नेपाली विद्यार्थीहरुको क्षमताकै आधारमा विश्वका ठुला सफ्टवेयर कम्पनीहरुले नेपालमै शाखा खोलेर काम गरिरहेको अवस्थामा नेपालमा इन्जिनियरहरुको आवश्यकताले भोलिको सम्भावनालाई प्रष्ट गरेको छ।
इन्जिनियरिङ अध्ययनका लागि एभरेष्ट इन्जिनियरिङ कलेज नै किन रोज्ने ?
सन् २००१ मा स्थापना भएको यो कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्ध प्राप्त गरेको हो। कलेजले अनुसन्धान, नवप्रवर्तन र व्यवहारिक शिक्षामार्फत दक्ष तथा प्रतिस्पर्धी प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ। हामीले सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक सीप र व्यावसायिक दक्षतालाई प्राथमिकता दिदै आएका छौँ।
कम शुल्कमा गुणस्तरीय शिक्षामा हामी प्रतिवद्ध रहदै आएका छौँ। कलेजमा हाल स्नातक तह अन्तर्गत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सूचना प्रविधि (आईटी) इन्जिनियरिङ तथा सफ्टवेयर इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा रहेका छन्। कलेजले आर्थिक अवस्था कमजोर भएका तर इन्जिनियरिङ अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विभिन्न छात्रावृत्ति प्रदान गर्दे आएको छ।
अध्ययनका लागिआवश्यक पर्ने प्रयोगशाला, स्थलगत अध्ययन भ्रमण,विद्यार्थीहरुका लागि देश भित्र तथा देश बाहिर सेमिनारहरूमा सहभागिताको अवसर कलेजले प्रदान गर्दे आएको छ।
काठमाडौँ उपत्यकाको मुख्य स्थानमा रहेकाले जुनसुकै ठाँउमा रहेका विद्यार्थीहरुले यस कलेजमा अध्ययनका लागि सहज रहेको छ। त्यसैगरि विद्यार्थीमैत्री वातावरणमा अध्ययन गराइने र नाफामुखी भन्दा सेवामुखी भावका कारण यस प्रत्येक वर्ष कलेजलाई उपलब्ध सिट पुर्ण हुने गरि हामीले विद्यार्थीहरुलाई अध्यापन गराउदै आएका छौँ।