काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का उपाध्यक्ष विकल्पराज पोखरेलले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्यका रूपमा विकास गर्न बङ्गलादेशसँग सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका छन्।बङ्गलादेशमा आयोजित ‘फ्याड क्याब’ शैक्षिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरेलले इक्यानले अघि बढाइरहेको ‘स्टडी इन नेपाल’ अभियानमा बङ्गलादेशको शैक्षिक परामर्श क्षेत्रलाई सहकार्य गर्न आह्वान गरेका हुन्।
नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘स्टडी इन नेपाल’ अभियानमार्फत बङ्गलादेशलगायत विभिन्न देशका विद्यार्थीलाई नेपालमा उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने प्रयास भइरहेको उनले बताए।
नेपाल र बङ्गलादेशबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, शैक्षिक तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै पोखरेलले शिक्षा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण माध्यम भएको बताए। ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउन बङ्गलादेशको शैक्षिक परामर्श क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। उनले आगामी दिनमा विद्यार्थी आदानप्रदान, संस्थागत सहकार्य, संयुक्त शैक्षिक परियोजना तथा अन्य शैक्षिक गतिविधिमा दुई देशका संस्थाबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। इक्यान र बङ्गलादेशको शैक्षिक परामर्श क्षेत्रबीचको सम्बन्धलाई थप विस्तार गर्न आफूहरू इच्छुक रहेको बताउँदै पोखरेलले बङ्गलादेशी प्रतिनिधिलाई आगामी अगस्टको अन्त्यमा नेपालमा आयोजना हुने ‘इक्यान डे’ मा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिए।
‘यो एउटा कार्यक्रमको अन्त्य नभई इक्यान र फ्याड क्याबबीचको सहकार्यको नयाँ यात्राको सुरुवात हो,’ पोखरेलले भने। दक्षिण एसियाको शैक्षिक परामर्श क्षेत्रलाई थप सुदृढ बनाउन तथा क्षेत्रीयस्तरमा व्यवसायीहरूको आवाजलाई एकीकृत गर्न नेपाल र बङ्गलादेशबीचको सहकार्य महत्वपूर्ण हुने उनले बताए। आगामी दिनमा दुवै देशका शैक्षिक परामर्श व्यवसायीबीच अनुभव आदानप्रदान, विद्यार्थी आवागमन र संस्थागत सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
समापन समारोहमा बङ्गलादेशका जलस्रोत मन्त्री, बङ्गलादेशका लागि नेपाली राजदूत, रुसी राजदूत, फ्याड क्याबका पदाधिकारी तथा सदस्यलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शैक्षिक परामर्श व्यवसायी तथा अतिथिहरूको उपस्थिति थियो।