काठमाडाैँ- बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘स्टडी इन नेपाल’ अभियानलाई बङ्गलादेशमा विस्तार गर्न शैक्षिक परामर्श क्षेत्रसँग सहकार्यको आग्रह गरेका छन्। बङ्गलादेशमा आयोजित ‘फ्याड क्याब’को १४औँ शिक्षा मेलाको समापन समारोहलाई सम्बोधन गर्दै राजदूत भण्डारीले ‘स्टडी इन नेपाल’ र ‘फ्याड क्याब’बीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले नेपालका विश्वविद्यालय तथा कलेजमा उपलब्ध आधुनिक पूर्वाधार, प्रविधि र विभिन्न शैक्षिक अवसरबारे बङ्गलादेशी तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई जानकारी गराउन आवश्यक रहेको बताए। नेपाललाई शिक्षा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले ‘स्टडी इन नेपाल’ अभियान अघि बढाइएको उनको भनाइ थियो। नेपाल र बङ्गलादेशबीच लामो समयदेखि शिक्षा क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूत भण्डारीले हाल करिब २ हजार ७ सय नेपाली विद्यार्थी बङ्गलादेशमा अध्ययनरत रहेको जानकारी दिए। तीमध्ये अधिकांश चिकित्सा शिक्षा अध्ययन गरिरहेको उनले बताए।
त्यसैगरी, केही बङ्गलादेशी विद्यार्थी नेपालमा अध्ययनरत रहेको र ठूलो सङ्ख्यामा बङ्गलादेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको उनले उल्लेख गरे। शिक्षा र जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। बङ्गलादेशमा गुणस्तरीय र सुलभ उच्च शिक्षाको खोजीमा रहेको ठूलो युवा जनसङ्ख्या रहेको भन्दै राजदूत भण्डारीले नेपालले आफ्ना शैक्षिक अवसरबारे बङ्गलादेशी विद्यार्थीमाझ प्रभावकारी रूपमा जानकारी पुर्याउनुपर्ने बताए।
‘स्टडी इन नेपाल’ अभियानको प्रमुख उद्देश्य नेपालका विश्वविद्यालय तथा कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्नु रहेको उल्लेख गर्दै उनले अभियानलाई बङ्गलादेशमा प्रभावकारी रूपमा विस्तार गर्न शैक्षिक परामर्श व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए।
शिक्षा मेलामा ‘स्टडी इन नेपाल’का तर्फबाट सहभागी विकल्प राज पोखरेल, शेषराज भट्टराई र मुकेश धमलाले ‘फ्याड क्याब’सँग सहकार्य अघि बढाएकोमा राजदूत भण्डारीले प्रशंसा गरे। आगामी दिनमा यस्तो सहकार्य औपचारिकतामा मात्र सीमित नभई नेपाल र बङ्गलादेशबीचको शैक्षिक साझेदारी विस्तार गर्ने आधार बन्नुपर्ने उनले बताए। नेपालको दूतावास यस्ता पहलमा आवश्यक सहयोग गर्न तयार रहेको जनाउँदै राजदूत भण्डारीले विद्यार्थी आदानप्रदान बढाउन तथा दुई देशबीचको शिक्षा साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
बङ्गलादेशमा आयोजित दुईदिने शिक्षा मेलामा करिब २२ हजार आगन्तुक सहभागी भएको र ८६ वटा प्रदर्शनी कक्ष राखिएको जानकारी दिँदै उनले सफल आयोजनाका लागि आयोजकलाई बधाईसमेत दिए।