विराटनगर- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री, प्रतिस्पर्धी र परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
मधेश प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा विश्वविद्यालयको अवलोकन गर्दै पदाधिकारीसँग अन्तक्र्रिया गरेका मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक अवस्था, प्रशासनिक सेवा, भौतिक पूर्वाधार, सञ्चालनमा रहेका कार्यक्रम तथा विद्यमान समस्या र चुनौतीबारे जानकारी लिएका हुन्।
मन्त्री पोखरेलले विश्वविद्यालयको सुधार भौतिक संरचना निर्माणमा मात्र सीमित हुन नहुने भन्दै गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति, प्रभावकारी प्रशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए। उनले परीक्षाको नतिजा समयमै प्रकाशन गर्ने वातावरण बनाउन तथा विश्वविद्यालयको सम्पत्ति र पूर्वाधारको अधिकतम उपयोग गर्न पनि निर्देशन दिए।
विश्वविद्यालयका समस्या र आवश्यकताबारे मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उनले उपलब्ध स्रोत, कानुनी व्यवस्था र संस्थागत क्षमताका आधारमा विश्वविद्यालयका प्राथमिकताका योजना अघि बढाउनुपर्ने बताए।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई आधुनिक र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्न विद्युतीय सुशासनलाई प्राथमिकता दिइने बताए। प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने गरी सुधारका कामलाई तीव्रता दिइने उनको भनाइ थियो।
मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयका समस्या समाधानका लागि परम्परागत कार्यशैलीभन्दा परिवर्तनकारी नीति आवश्यक रहेको बताए। विश्वविद्यालयका कामलाई स्पष्ट र मापनयोग्य प्रतिफल देखिने गरी अघि बढाउनुपर्नेमा उनले जोड दिए।
अन्तक्र्रियामा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विद्यार्थी अवस्था, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा आगामी योजनाबारे पदाधिकारीले जानकारी गराएका थिए। विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रशासनिक प्रक्रिया सरलीकरण, सेवा प्रवाह प्रभावकारी बनाउने र प्रविधिको अधिकतम प्रयोग गर्ने विषयमा छलफल भएको थियो।
त्यसैगरी विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी, आवश्यक जग्गा व्यवस्थापन र पूर्वाधार विकासका विषयमा समेत छलफल भएको थियो। स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन अस्पताल सञ्चालनलाई विश्वविद्यालयले महत्त्वपूर्ण योजनाका रूपमा अघि सारेको जनाएको छ।
मन्त्री पोखरेलले मधेश प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरीका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गरेका थिए। भ्रमणका क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको दोहोरो विवरण, शिक्षक सरुवा तथा उपस्थिति, दिवा खाजा, परीक्षा प्रणाली, स्थानीय पाठ्यक्रम, प्रयोगात्मक शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रयोगशालाको अभाव र शिक्षक दरबन्दी मिलानलगायत विषयमा समस्या तथा सुझाव प्राप्त भएका थिए।